आइतबार १३ मङ्सिर २०८३
समाज

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने विषयमा संयुक्त अभ्यास हुँदै

शनिबार मङ्सिर १२, २०८३/ Saturday 11-28-26

काठमाडौं। नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच विस्फोटक पदार्थ पहिचान, निष्क्रियकरण तथा सुरक्षित विसर्जनसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान हुने भएको छ।

‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू आगामी मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँग संयुक्त कार्यक्रममा सहभागी हुने भएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो।

नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पहिचान गर्ने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव आदानप्रदान गर्नेछन्।

कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञले आफ्नो कार्यसञ्चालन अनुभव, प्राविधिक ज्ञान तथा प्रभावकारी अभ्यासबारे जानकारी गराउनेछन्। त्यसैगरी, शान्ति स्थापना अभियानका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट अमेरिकी पक्षले पनि सिक्ने अवसर पाउनेछ।

संयुक्त अभ्यासमार्फत विस्फोटक पदार्थजन्य जोखिमको पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनसम्बन्धी सीप तथा क्षमता अभिवृद्धि गरिने दूतावासले जनाएको छ। यसले नेपाल र अमेरिकाबीचको सैन्य सहकार्यलाई थप सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने क्षमतामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल विश्वका प्रमुख शान्ति सैनिक योगदानकर्ता मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल–अमेरिका दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताएकी छन्।

 

तपाईको प्रतिक्रिया