आइतबार १३ मङ्सिर २०८३
राजनीति

सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा १२१ जना पक्राउ

शनिबार मङ्सिर १२, २०८३/ Saturday 11-28-26

काठमाडौँ । सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट गर्ने र महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान ५ बजेदेखि सञ्चालन गरेको ‘सुरक्षित यात्रा’ विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी हुने, पाकेटमारी र लुटपाट हुने तथा महिलामाथि दुर्व्यवहार र हैरानी दिने घटनाबारे प्राप्त गुनासोका आधारमा अभियान सञ्चालन गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौँका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन्।

प्रहरीले काठमाडौँको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धारालगायत क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

त्यसैगरी ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारी क्षेत्रबाट पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

 

तपाईको प्रतिक्रिया