आइतबार १३ मङ्सिर २०८३
राजनीति

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैन : रवि लामिछाने

शनिबार मङ्सिर १२, २०८३/ Saturday 11-28-26

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।

सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विकासलाई निर्वाचनको नतिजा र राजनीतिक प्रतिनिधित्वसँग जोड्न नहुने धारणा व्यक्त गरे।

कर्णालीले रास्वपालाई मत दिए पनि नदिए पनि आफूहरू सरकारमा रहुन्जेल प्रदेशको विकासलाई प्राथमिकता दिने उनको भनाइ थियो।

‘हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ,’ उनले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकतामा रहनेछ।’

लामिछानेले विकासका नाममा कर्णालीसँग कुनै राजनीतिक सौदाबाजी नगर्ने पनि स्पष्ट पारे। रास्वपाका उम्मेदवारलाई जिताए मात्रै सडक, पुललगायतका पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएर मत माग्ने पक्षमा पार्टी नरहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया