आइतबार १३ मङ्सिर २०८३
समाज

तुइनखोलामा पहिरो रोकथामका लागि दैनिक पाँच घण्टा सडक बन्द हुने

आइतबार मङ्सिर १३, २०८३/ Sunday 11-29-26

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम सुरु गरिने भएपछि आजदेखि दैनिक पाँच घण्टा सडक बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

पहिरो नियन्त्रणको काम भइरहेका बेला हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।

तुइनखोला क्षेत्रमा निरन्तर पहिरो खस्ने समस्या देखिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधिको प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो।

योजनाअनुसार पहिरो प्रभावित क्षेत्रका ठूला ढुङ्गा हटाउने, भिरको भिरालोपन व्यवस्थापन गर्ने तथा फलामे रड प्रयोग गरी पहिरो प्रभावित भागलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ। त्यस्तै, भिरभित्रबाट रसाएर आउने पानीको निकासका लागि ‘होरिजोन्टल ड्रेन’ र जैविक इन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिनेछ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार भिरको प्रकृतिअनुसार द्विआयामिक र त्रिआयामिक ढाँचामा जैविक इन्जिनियरिङका उपाय अपनाइनेछ। पहिरो नियन्त्रणको मुख्य उपायका रूपमा भने नेलिङ प्रविधि प्रयोग गरिने उनले बताए।

शर्माका अनुसार सडकको अवस्थालाई हेर्दा काम सम्पन्न गर्न कम्तीमा १५ दिनसम्म सडक बन्द गर्नुपर्ने अवस्था छ।

यसैबीच, काठमाडौँबाट मुग्लिङ हुँदै आँबुखैरेनी भएर पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित सञ्चालनमा रहने प्रशासनले जनाएको छ।

सडक बन्द हुँदा यात्रु तथा सवारी चालकलाई पर्न सक्ने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै यात्रा गर्नुअघि वैकल्पिक मार्ग र समयको व्यवस्थापन गर्न आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया