मंगलबार ४ बैशाख २०८१
जीवनशैली

उच्चरक्तचाप संबन्धि भ्रम र वास्विकता, यि हुन उपचार तथा नियन्त्रणका उपाय

बिहीबार पौष ९, २०७७/ Thursday 12-24-20

पहिलो पटक ह्दयाघात भएका मध्ये ६९ प्रतिशत, मस्तिष्कघातको ७४ प्रतिशत र हार्ट फेल्योरको ७४ प्रतिशत बिरामीमा उच्चरक्तचाप भएको पाईन्छ। वर्षेनिसंसारभरीमै हुने मृत्युको सबभन्दा बढी (१ करोड ७० लाखमा एकतिहाई) मुटु र रक्तनली संबन्धि रोग (कार्डियो भास्कुलर डिजिज) को कारणले हुने गर्छ, जसमा ह्दयाघात र मस्तिष्कघात प्रमुख २ कारण हुन्।

मुटुरोगले हुने मृत्युको ४५ प्रतिशत र मस्तिष्कघातले हुने मृत्युको ५१ प्रतिशत (अर्थात ९४ लाख) मानिस बर्षेनि उच्चरक्तचापको जोखिमले (कम्प्लिकेशन डेथ) असामयिक मृत्युका शिकार हुने गरेको तथ्याङ्क छ। (सन् २००८ वि.स्व.सं.)। अर्थात वर्षेनि संसारभरीनै सबभन्दा बढी मानिसहरुको मृत्यु उच्चरक्तचापले हुने गर्दछ। 

विश्वका २५ वर्षमाथिका ४० प्रतिशत र १८ वर्ष माथिका २२ प्रतिशत व्यक्तिहरुमा उच्चरक्तचाप भएको पाइन्छ।  यो तथ्याङ्क (डब्लुएचओ) को दक्षिण पूर्वएसिया क्षेत्रसंग मिल्दोजुल्दो हो। नेपालमा विभिन्न अध्ययनहरुको आधारमा लगभग ३० प्रतिशत बयस्कहरुमा उच्चरक्तचाप भएको पाइन्छ। काठमाडौं उपत्याकामा गतवर्ष (हामीले गरेको अध्ययनमा) पहिलादेखि थाहा नभएको ९० प्रतिशत बयस्कहरुमा उच्चरक्तचापको अवस्था फेलापरेको थियो।

नेपाल जस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमै उच्चरक्तचापका बिरामीहरु बढी भएका र यसबाट हुने मृत्यु पनि बढी हुने गरेको देखिन्छ। सन् २००८ मा १ सय मुटुरोगका मानिसहरुको रक्तचाप नियन्त्रणमा नभएको तथ्याङ्क छ।

कुनै पनि लक्षण नै नदेखाइ भित्र भित्रै हुने मस्तिष्क, मृगौला र रक्तनीलहरुमा असर गरेर अचानक मृत्युको मुखमा पुर्याउने भएकाले उच्चरक्तचापलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ। अचानक कुनैदिन ह्दयाघात, मस्तिष्कघात, हार्टफेलियर, मृगौलारोग आदिको समस्या भएपछि मात्रै उच्च रक्तचाप भएको थाहा हुने भएकाले दुर्घटना हुनुभन्दा पहिला नै यसको पहिचान, उपचार र नियन्त्रण गर्नु जरुरी देखिन्छ। यो तथ्यलाई अस्विकार गर्नेहरुमा सजिलैसंग १-२ वटा औषधि खाएर नियन्त्रण हुने उच्चरक्तचापले, अत्यन्तै जोखिमपूर्ण रोगको रुपमा आफ्नो उपस्थिति कुनै बेला पनि देखाउन सक्छ।

उच्चरक्तचापको लक्षण प्रायः नदेखिने भएकाले, यसको समयमै पहिचान, उपचार वा नियन्त्रण गर्न अप्ठारो भएको हो। कुनै पनिव्यक्तिले केहि अप्ठ्यारो नै नभएको अवस्थामा कुनै पनि औषधि लामोसमयसम्म खान नखोज्नु स्वभाविक हो। केहि समस्या वा लक्षण नैनभइकन संभावित साइड इफेक्ट हुनु, महंगो औषधि बाचुञ्जेल खानु कसैको पनि चाहना हुदैन।

उच्च रक्तचापको लक्षण नहुने हुनाले औषधिले गरेको फाइदा पनि बिरामीले थाहा पाउदैनन्। यो त रक्तचाप जाच्दा मात्रै थाहा हुन्छ। कि रक्तचाप नियन्त्रण भयो, तर यसबाट हुने फाइदाहरु अदृष्य भएपनि निश्चित हुन्छ, जुन विज्ञानले पनि प्रमाणित गरेको छ र यो तथ्यसंग प्रत्येक व्यक्तिले सहमत हुनुपर्छ।

अप्ठ्यारो भएको अवस्थामा प्रयोग गरिने औषधिले स्वास्थ्यलाभ हुने र बिरामीलाई सजिलो हुने हो भने सबैले त्यो उपचार स्वीकार्छन्, तर एउटा सम्भावित अदृष्य फाइदाको लोभ लामो समयसम्म औषधि खान कसैलाई सजिलैसंग स्वीकार्य हुदैन।

तर बुझ्नुपर्ने कुरा के हो भने, उच्चरक्तचापको नियन्त्रण एउटा उपचारभन्दा पनि रोकथाम हो। जसरी बालबालिकालाई केही समस्या नै नभइ(भविष्यमा संक्रमणबाट बचाउन) खोप दिने गरिन्छ, ठीक त्यसरी नै उच्चरक्तचापलाई नियन्त्रणमा राख्न औषधिको प्रयोग गर्नु एउटा रोकथाम मात्र हो, जसले भविष्यमा हुनसक्ने प्राणघातक रोगहरु लाग्नबाट बचाउछ।

यो फाइदा अदृष्य भएपनि, तुरुन्तै नदेखिएपनि, उपचार महंगो भएपनि औषधि लामो समयसम्म (बाचुञ्जेल होइन) खानुपर्ने भएपनि, अलि-अलि र साधारण साइडइफेक्ट (रोकथाम गर्न मिल्ने) भएपनि उच्चरक्तचापको नियन्त्रणको लागि गरिने औषधि लगायतका प्रयासहरु अत्यन्तै लाभकारी र निश्चित मान्नुपर्छ।

उचित तरीकाले, सही औषधि, सहीमात्रा र सही समन्वयमा बिरामीको स्वास्थ्य, आर्थिक र सामाजिक अवस्थालाई ध्यान पुर्याएर उपचार गरिएमा, बिना केही नोक्सान अनेक प्राणघातक रोगहरुबाट सजिलैबच्न सकिन्छ। प्रत्येक व्यक्ति, परिवारका सदस्य, चिकित्सक, पारामेडिक्स, औषधि पसलका व्यक्तिहरुले बिरामीलाई औषधिको उचित प्रयोगको लागि सदैव प्रोत्साहित गर्न जरुरी देखिन्छ।

उच्चरक्तचापको औषधिका अनेकौ फाइदा हुदाहुदै पनि हामी मध्ये धेरैले डाक्टरको सल्लाह विपरित औषधि खादै नखाने, औषधिको मात्रालाई घटबढ गर्ने, प्रयोग अनियमित गर्ने, कहिले खाने कहिले नखाने र कहिलेकाही त औषधि बन्दै गर्ने पनि गर्दछन्। एकपटक औषधि शुरु गरेर नियन्त्रणमा रक्तचाप आइसकेपछि (१२०/८०) अचानक बन्द गरेमा (आफैले डाक्टरको सल्लाह बिना) रक्तचाप एक्कासी बढन सक्छ, यसलाई रिबाउण्ड फेनोमेनन भनिन्छ।

औषधि बन्द गर्दा अचानक रक्तचाप बढेर मस्तिष्कघात, ह्दयाघात जस्ता घट्नाहरु आइपर्ने सम्भावना बढी हुन्छ। बरु डाक्टरको सल्लाह अनुसार रक्तचाप १२०/८० भन्दा कम भएमा बिस्तारै मात्राघटाउन मिल्छ तर नियमित रक्तचाप जाच गरिराख्न जरुरी हुन्छ।

आफ्नै स्वास्थ्यमाथि प्रतिकुल असर हुने गरी कसैले पनि किन औषधि नखाने, मात्रा घटाउने, अनियमित खाने, बन्द गर्ने गर्छन त? बर्षौदेखिको बिरामीसंगको छलफल, अन्तरकृया र अनुभवको आधारमा निम्नकारणहरु हुनसक्ने निष्कर्षमा पुगेको छु।

यसको सबभन्दा प्रमुख कारण हो: उच्चरक्तचाप र यसमा प्रयोग गरिने औषधिको बारेमा जानकारीको कमीले समाजमा फैलिएका भ्रमहरु जस्तैः-

१) उच्चरक्तचापका औषधिहरु लामो समयसम्म प्रयोग गर्दा साइड इफेक्ट हुन्छ, जुन गलत धारणा हो। बेलाबेलामा रगतको जाच गरेर औषधिको साइड इफेक्ट पत्ता लगाउने गरिन्छ। डाक्टरको निगरानीमा बसेर उपचार गर्दा साइड इफेक्टको चिन्ता नै लिनुपर्दैन।

२) यसले मृगौलालाई असर पार्छ? यो बिल्कुलै गलत हो।उच्चरक्तचापका औषधिहरुले झन् मृगौला रोग लाग्नबाट बचाउछ र कुनै-कुनै औषधिले त मृगौला रोगीको लागि झन् फलदायक मानिन्छ र रोग निको बनाउन मद्दत पुर्याउछ। बरु औषधि नखाएमा मृगौला रोगलाग्न सक्छ।

३) बानी पर्छ र छुटाउन मिल्दैन। उच्चरक्तचापका औषधिहरु बानी नपर्ने हुन्छन्। जति दिन प्रयोग गरे पछि पनि छोड्न वा घटाउन मिल्छ। तर आम जनताले बुझेको कुरा फरक हो। रक्तचाप बढेको बेलामा औषधि खाएर नियन्त्रणमा ल्याएपछि, औषधि अचानक छोड्न मिल्दैन। जुनकारणले रक्तचाप बढेको हो, त्यसलाई बरु नियन्त्रणमा लिइयो भने रक्तचाप स्वतः घट्न थाल्छ र औषधिको आवश्यकता कम हुने र बन्दै गर्न पनि मिल्छ। तर आफ्नै जीवनशैलीमा सुधार नगरेमा रक्तचाप नियन्त्रण गर्ने उपाय औषधि मात्रै हुन्छ जसलाई घटाए पछि वा बन्दगरेपछि, फेरि पहिलाकै अवस्थामा जान्छ। जसलाई आम मानिसले भ्रमबश बानी परेको बुझ्छन् जुन गलत हो।

४) बाचुञ्जेल खानुपर्छ? हो, तपाईंले  आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु भएन भने यो औषधि बाचुञ्जेल खानुपर्ने हुनसक्छ, तर शुरुमा यो सोचेर औषधि नखानु गलत मानसिकता हो। किनभने औषधि सुरु गरेपछि जीवनशैलीमा सुधार गरेमा पछि घटाउने वा बन्द गर्ने पनि हुनसक्छ, तर अधिकांश बिरामीलाई रक्तचापको औषधि लामो समयसम्म (बाचुन्जेल होइन) खानुपर्ने हुन्छ। ५० वर्ष मुनिका अधिकांश बिरामीमा हामीले औषधि शुरु गरेको केही महिनापछि, घटाउन प्रयास गर्ने गर्दछौं।

कति दिन सम्म, कति मात्रा खाने हो, यो कुरा तपाईको स्वास्थ्य अवस्था, रक्तचापको जटिलता, जीवनशैली, उमेर, वंशाणुगत, मोटोपना आदि कुराहरुमा भर पर्छ, जुन डाक्टरको अनुभवले निर्णय गर्नेकुरा हो।

जनचेतना बाहेक अर्को प्रमुख कारण हो, स्वास्थ्य प्रतिको असम्वेदनशीलता, आर्थिक समस्या र औषधिको उपलब्धता। केहीव्यक्तिहरु बानीले पनि स्वास्थ्य प्रति धेरै सजग हुदैनन्। औषधि सकिएपछि नकिन्ने, डाक्टरसंग भेट्न ढिलो गर्ने, २-४ दिन औषधि नखाए केही फरक पर्दैन भन्ने कुरा सोच्ने आदि प्रवृति भएका प्रशस्त मान्छे हुन्छन्, समस्यामा पनि यीनिहरुलाई नै पर्ने गर्दछ।

कहिले काही चिकित्सकले एउटा गरिब व्यक्तिलाई महंगो औषधि र सजिलैसंग सबै ठाउमा नपाउने औषधि लेख्नु भनेको लामो समयसम्म निरन्तर औषधिको सेवन नहुनुको एउटा प्रमुख कारण हुनसक्छ। त्यसैले प्रत्येक बिरामी आफुले सेवन गर्ने औषधि प्रयाप्त रुपमा राख्ने, बिनाकारण र डाक्टरसंग परामर्श नगरी बन्द नगर्ने, महंगो भएमा वा उपलब्धता असहज भएमा चिकित्सकसंग आफुलाई सुहाउदो औषधि फेर्न लाउने आदि कुराहरु उच्चरक्तचापको उपचारमा अत्यन्तै महत्वपूर्ण हुनसक्छ।

निम्न र मध्ययम आय भएका राष्ट्रहरुमा कमजोर स्वास्थ्य प्रणालीलेगर्दा उच्च रक्तचापको पहिचान उपचार र नियन्त्रणमा समस्या भएको देखिन्छ। स्वास्थ्य सेवाको प्रत्येक स्तंम्भमा उच्चरक्तचापको प्राथमिकता दिन सकिएमा सिंगै राष्ट्रको नसर्ने रोगको मृत्युको संख्यामा उल्लेखनिय गिरावट मात्र होइन कि देशकै सामाजिक र आर्थिक स्तरमा ठूलो सुधारको अपेक्षा गर्न सकिन्छ।

किनभने नसर्ने र मुटुरोगबाट मर्ने ८० प्रतिशत मानिसहरु आर्थिक रुपले पिछिडिएका राष्ट्रहरु हुने गरेको पाइन्छ, जसमध्ये ६० प्रतिशत भन्दा बढी पैसा कमाउने उमेरका व्यक्ति हुन्छन्। सस्तो औषधिको प्रयोगले उच्चरक्तचापको राम्रो नियन्त्रण हुनु भनेको पछि गएर मुटुरोग, मृगौलारोग, मस्तिष्क घातको उपचारमा खर्चमै लाखौ रुपैयाको बचत गर्नुपनि हो। परिवारको सबभन्दा प्रमुख व्यक्ति जीवित र स्वस्थ हुनु पनि हो। अर्थात उच्चरक्तचापको राम्रो नियन्त्रण प्रत्येक बिरामीको स्तरमा हुनसकेमा, सिंगो राष्ट्रकै स्वास्थ्य सामाजिक र आर्थिक उन्नतिको ठूलोप्रयासको रुपमा लिन सकिन्छ।

उच्चरक्तचापका प्रमुख कारणहरु: अस्वस्थ आहार (नूनिलो/ चिल्लो), मदीरा, चुरोटको सेवन, मोटोपन, शारीरिक गतिविधिमा कमि, बढ्दो उमेर र वंशाणुगत कारणहरु पर्दछन्। प्रत्येक स्वस्थ्य व्यक्तिमा माथि उल्लेखित कुनै न कुनै कारण अवस्य हुन्छन्। जसले गर्दा एउटा व्यक्तिको रक्तचाप भविष्यमा नियन्त्रणमा हुनु वा घटनुको साटो बढ्नु स्वभाविक प्रकृया मान्नु पर्छ।

तसर्थः प्रत्येक व्यक्तिले आफ्नो रक्तचापलाई सामान्य अवस्था (१२०/८० भन्दा कम) मा राख्न निरन्तर प्रयास गरिराख्नुपर्छ। अहिलेको अवस्थामा उच्चरक्तचापको प्रमुखकारण नै अस्वस्थ जीवनशैली भएकोले आफ्नो दिनचर्यामा निरन्तर स्वस्थकर सुधार गर्नु आवश्यक छ।

लेखक डा. ओम मुर्ति अनिल, बरिष्ट मुटु रोग बिशेषज्ञ हुनुहुन्छ।

तपाईको प्रतिक्रिया