शनिबार १२ श्रावण २०८१
विचार

पृथ्वीनारायण शाह, नेपाल एकीकरण र ईतिहासको विपठन

सोमबार पौष २७, २०७७/ Monday 01-11-21

जसरी होस्, हामीलाई पृथ्वीले नासोको रुपमा एउटा ठूलो मुलुक दिएकै हुन्। उनको, र उनका सन्ततीको गल्तीको परिणाम त शाह वंशले भोगिसक्यो, र मरिसक्यो। अब त्यो मुलुक खनजोत गर्ने, फूल फुलाउने, सुवास फैलाउने हाम्रो काम हो। पृथ्वीलाई गाली गरेर आज हामीले निम्त्याएको गरिबी र विपन्नतालाई ढाकछोप गर्न सकिँदैन।

आज पृथ्वी दिवस! 'राष्ट्रिय एकता दिवसै' चाहिँ हो होइन, बहस होला। एकता हार्दिक र मानसिक कुरा हो। भूगोल त जोडे शाहले, मन जोड्न केही कसर बाँकी रह्यो कि? अथवा, व्याख्यामा कुनै कसर रह्यो कि? अथवा, उनका उत्ताराधिकारीले गरेका गल्तीको दोष उनीमाथि लाग्यो कि? भूगोल र मन एकैचोटि जोड्ने नेता विश्वमै हुन्छ कि हुँदैन? के यो आदर्शवादी चिन्तन हो? हो भने, आजका थुप्रै 'क्रान्तिकारी' आदर्शविलासी हुन्। मान्छे दोषसहित आउँछ, बाँच्छ।

नेपालमा, सबै नेपालीको मन कसैले जोडेको देखिँदैन। बुद्ध व्यवाहारमा खासै उतारिएका पात्र होइनन्, फगत एउटा फोटो बनाइएका, र बेला-बेला राजनीति गर्न बनाइएका पात्र! वीपी काङ्ग्रेसका, जनक मधेसका,  फाल्गुनन्द किराँतीहरूका। प्रचण्ड, ओली, बाबुराम र अन्य केही नेता त दूरकी बात। यस्ता कित्ता बनाउने पनि कित्तावादीहरू नै हुन्। नेपालको राष्ट्र निर्माता को? राष्ट्रपिता को? उत्तर छैन। यस्तो व्यक्तित्व नभए पनि हुँदो हो। मलाई पनि थाहा भएन।

पृथ्वीले राज्य खोसे, मान्छे मारे। वीपीहरू भूमिगत युद्धमा लागे। अन्य शाह राजाहरूको शोषणको इतिहास छ। ओली, प्रचण्डहरूसँग पनि हिंसाको पृष्ठभूमि छ। 'जनयुद्ध' मा मारिएका अथवा घाइते पारिएका सबै सामन्त होइनन्। हजारौँ निर्दोष पनि परे। दूधले नुहाएको कुनै पात्र, एकताको सूत्रधार कतै भेटिएला कि नभेटिएला?

एकथरि मान्छे, पृथ्वीले बाइसे–चौबिसेलाई बलजफत खोसेर जोडेको, र यसमा हिंसाको प्रयोग भएको कुरा स्वीकार्छन्। यो बाहेक उनको इतिहासको सबै कुरा नकार्छन्। यत्तिचाहिँ विश्वास गर्ने, र अरूचाहिँ नकार्ने अध्येता उपबुज्रुक अध्येता हुन्। एकाङ्गी हुन्। शङ्का गर्नेले, पृथ्वीले एकीकरण गरेको र हिंसा प्रयोग गरेको भन्ने कुरामाथि पनि शङ्का गुर्नु पर्ने होइन र? आखिर, त्यो ३०० वर्ष पुरानो कुरा देखेरै आएको को मान्छे छ आज? जुनबेला लेखकपढको सिलसिला नै सुरु भएको थिएन नेपालमा, त्यस बेलाको कथित इतिहासलाई आफू अनुकूल विश्वास गर्ने, र आफ्नो तर्क कमजोर पर्छ कि भनेको ठाउँमा अविश्वास गर्ने अवसरवादी पठन भइरहेको छ। सबै इतिहासको पठन, आखिर एउटा 'आस्तित्विक रणनीति' हो, भनौँ, अनुकूलित सत्य हो। पृथ्वीले जोडे र मान्छे मारेरै गरे भन्ने कुरोचाहिँ किन विश्वास गर्ने? आखिर, त्यो कुरो पनि उनकै कुनै भाटले लेखेको त हो?

संसारमा कुनै पनि मुलुकको एकीकरण भजन गाएर भएको छैन। सबै युद्धका उपज हुन्, सबैमा कुनै न कुनै अनुपातको हिंसाको हात हुन्छ।

अर्को पनि तर्क सुनियो! पृथ्वीनारायणलाई सम्झँदा अथवा राष्ट्रिय एकता दिवस मनाउँदा राजतन्त्रको समर्थन अथवा पुनरवापसीको कसरतलाई बल मिल्छ। यसको अर्थ, यसरी सोच्ने मान्छेलाई अहिलेको परिवर्तनमा विश्वासै छैन। राजतन्त्र नेपालबाट धुलिट्याम भैसकेको कुरामा शङ्का छ। एक मुठी कमरोज राजावादीहरूबाट डर छ। पृथ्वी दिवस, राष्ट्रको एकीकरण र राजावाद पृथक विषय हुन्। पृथ्वी दिवसको पक्षमा यति धेरै नेपाली देखिए। यी सबै राजावादी भएका भए, अस्तिको चुनावमा राप्रपा एक नम्बरको पार्टी हुन्थ्यो। जनता आफैँ न्यायालय हुन्।

जसरी होस्, हामीलाई पृथ्वीले नासोको रुपमा एउटा ठूलो मुलुक दिएकै हुन्। उनको, र उनका सन्ततीको गल्तीको परिणाम त शाह वंशले भोगिसक्यो, र मरिसक्यो। अब त्यो मुलुक खनजोत गर्ने, फूल फुलाउने, सुवास फैलाउने हाम्रो काम हो। जोडेको पृथ्वीले नै हो। उनलाई गाली गरेर आज हामीले निम्त्याएको गरिबी र विपन्नतालाई ढाकछोप गर्न सकिँदैन। कि उनले जोडेको मुलुकमा बस्दिनँ भनेर वहिष्कार गरेर अन्यत्रै जाने आँट गर्न सक्नुपर्यो। कि त पृथ्वीलाई यो मुलुक जोडेको जश दिनुपर्छ। त्यसो गर्दा उनी महान, उनी देवता, उनी राष्ट्रपिता भनिएको भन्ने अर्थ कदापि लाग्दैन। 

बात बाँकी आजको पुस्ताको काम हो। राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना!!

तपाईको प्रतिक्रिया