प्रोष्टेट क्यान्सर नेपालमा टप टेन क्यान्सरमा पर्दैन : डा. अरुण शाही ( क्यान्सर रोग विशेषज्ञ)
क्यान्सर रोगको नाम सुन्ने बित्तिकै जो कसैको मनमा एक किसिमको डर पैदा हुने गर्दछ। आफुलाई क्यान्सर भएको थाहा पाएपछि एक छिन पुरै अधेरो नै देख्ने गरेको, अँझै भन्ने हो भने क्यान्सर लागेको थाहा पाएपछिको बाँकी जिवन अन्धकारमय हुने भयो भनि चिन्तित हुने, साथै सोच्ने शक्तिनै सुन्यमा झर्ने गरेको केही क्यान्सर पिडित बिरामीहरु बताउछन्।
क्यान्सर हाम्रो शरीरको कुनै पनि अंङ्गमा लाग्न सक्द छ। क्यान्सरको पनि तह हुने र कतिपय बिरामीहरुलाई क्यान्सर पहिलो तथा दोस्रो तहसम्म पुग्दा समेत थाहा नहुने वा कुनै प्रकारको रोगको लक्षण नदेखिने गरेको क्यान्सर रोगका बिशेषज्ञ डाक्टरहरु बताउछन्। यद्धपी क्यान्सर भन्ने बित्तिकै आत्तिने वा मरिहालीन्छ भन्नु भने हुँदैन। क्यान्सर भएको थाहा पाईसकेपछि पनि जिवनशैलि परिवर्तन गर्न सकेको वा स्वास्थकर्मीहरुको सल्लाहा सुझाव अनुसार रोगको उपचार तथा नियमित चेकजाँच, औषधि सेवन, दैनिक कृयाकलाप र खानपानमा ध्यान पुर्याएको खण्डमा धेरै प्रकारका क्यान्सर रोगलाई जित्न सकिन्छ।
क्यान्सर भनेको के हो? यि मध्य प्रायजसो पुरुषहरुलाई लाग्ने प्रोष्टेट क्यान्सर भनेको के हो? यो कसरी लाग्छ? यो बाट बच्ने उपाय र रोग लागिसकेपछि गरिने उपचारका बारेमा थप जान्न हेरौं पाटन शिक्षण अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीसंग देश दैनिकका लागि शान्ति थापाले गरेको कुराकानीको सम्पादित अंश।
पछिल्लो समय पुरुषहरुमा धेरै मात्रामा प्रोष्टेट क्यान्सरको अवस्था विकराल बन्दै गइरहेको छ। प्रोष्टेट भनेको र प्रोष्टेट क्यान्सर भनेको के हो डाक्टरसाब आम मानिसहरुले बुझ्ने गरि बताईदिनुहोस् न?
धन्यबाद! सबै भन्दा पहिले हामीले प्रोष्टेट क्यान्सर भन्दा पनि क्यान्सर भनेको के हो? यसको बारेमा जान्न जरुरी छ। साधारण अर्थमा भन्नु पर्दा हाम्रो शरिर हजारौं, लाखौं अर्थात करोडौं कोषिकाहरु मिलेर बनेको हुन्छ। यदि यि कोषिकाहरु अनियन्त्रित भइ विभाजित भए भने त्यसलाई क्यान्सर भनिन्छ। यस्तै प्रोष्टेटको कोषिकाहरु अनियन्त्रित भएको खण्डमा त्यसलाई हामी प्रोष्टेट क्यान्सर भन्दछौं। प्रोष्टेट भनेको पुरुषहरुमा पाइने एक प्रकारको ग्रन्थी हो। यो पुरुषहरुको मुत्र थैलि भन्दा थोरै पछाडी र दिशा गर्ने भाग जसलाई रेक्टम भनिन्छ त्यसको अगाडी रहेको हुन्छ।
प्रोष्टेटले (प्रोष्टेट स्पेसिफिक एन्टिजिम) भन्ने पदार्थ निकाल्दछ यो एक प्रकारको प्रोटिन हो जसले सुक्रकिटलाई सजिलैसंग बग्नमा मद्दत गर्दछ। सामान्यतया पुरुषहरुको उमेर बढेसंगै यसको आकार पनि बढ्दै जाने हुन्छ। पुरुषहरुमा धेरैमात्रामा प्रोष्टेट क्यान्सर भनिएपनि हाम्रो देशको तथ्यांङ्क हेर्ने हो भने १० प्रकारका क्यान्सरभित्र पनि प्रोष्टेट क्यान्सर पर्दैन। तर अमेरिकाको तथ्यांङ्क भने हाल एक नंबरको क्यान्सरको रुपमा बिकसित भएको छ र सबै भन्दा बढी क्यान्सरको मृत्युदर हेर्ने हो भने नंबर दुईमा पर्दछ।
तर पछिल्लो समय हामी नेपालीहरु अर्थात दक्षिण एसियालीहरु पनि पस्चिमी संस्कारसंगै खानपानमा पनि वेष्टवाईज हुँदै गइरहेका छौं। सामान्य आफ्नै घरमा पाक्ने दाल, भात तरकारी नखाएर पिजा, बर्गर जस्ता बढी प्रोटिनयुक्त खानेकुरा खाने गर्दछौं, तसर्थ अब हाम्रो देशमा पनि केही समय पछि प्रोष्टेट क्यान्सरले विकराल रुप लिने अनुमान गर्न सकिन्छ। त्यसैले अहिले देखिनै हामीहरुले यो रोगबाट बच्न के कस्ता प्रिभेन्सनहरु अपनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ।
प्रोष्टेट क्यान्सर पुरुषहरुमा कुन उमेर समुहकालाई बढी हुने गर्दछ? वा कस्ताखालका पुरुषहरुलाई प्रोष्टेट क्यान्सर हुने गर्दछ?
प्रोष्टेटको समस्या देखिने उमेर समुहलाई आधार मान्ने हो भने ५० देखि ५५ वर्ष कटेका पुरुषहरुमा र अझैं प्रोष्टेट क्यान्सर हुने बढी खतरा पनि यहि उमेरका पुरुषहरुमा रहेको पाईन्छ। साथै कसैको परिवारमा बुवा अथवा त्यो भन्दा अगाडि हजुबुवालाई प्रोष्टेट तथा प्रोष्टेट क्यान्सर भएको थियो भने त्यस्ता छोरा-नातिहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ।
अहिलेको नयाँ तथ्यांङ्कले के जनाउछ भने आमा वा हजुरआमालाई स्तन क्यान्सर र डिम्बासायको क्यान्सर जस्ता रोग लागेको भए उहाँहरुमा बीआरसी-१, बीआरसी-२ जस्ता जिन पोजेटिभ छन भने त्यस्ता आमाबाट जन्मेका छोरा तथा नातिहरुलाई पनि यो रोग लाग्ने बढी सम्भावना रहेको पाईन्छ। तथ्यांङ्कको आधारमा भन्नु पर्दा १० देखि १५ प्रतिशत यो बीआरसी-१ र बीआरसी-२ जस्ता पोजेटिभ जिन भएका आमाहरुबाट जन्मेका छोराहरुमा प्रोष्टेट क्यान्सर भएको पाइएको छ।
जस्तो की गाउँ-घरहरुमा मुटु, फोक्सो, मृगौला लगायतका क्यान्सरका बारेमा निकै सचेतना तथा जनतेतना जगाएको देखिन्छ। त्यस्तै यो प्रोष्टेट क्यान्सरको पनि सचेतना फैलाउने अवस्था भएको हो?
मैले अघि पनि भनि सके, हाम्रो देशमा त्यस्तो अवस्था छैन। अमेरिकाको तथ्यांङ्कलाई हेर्दा विकराल रुप लिएको देखिन्छ। क्यान्सर रोग लाग्नेमा नंबर एक र मृत्यु हुनेमा नंबर दुईको क्यान्सरको रुपमा रहेको छ। साथै अमेरिकामा फोक्सोको क्यान्सर पनि बढी जस्तो प्रोष्टेट क्यान्सरका कारण बढेको पाइएको छ।
अर्को कुरा हाम्रो देशमा क्यान्सर रजिष्टरिट सिष्टम त्यति कडारुपमा भएको छैन। नेपालका १० देखि १२ जिल्ला र ८ देखि १० वटा अस्पतालहरुको तथ्यांङ्क हामीसंग उपलब्ध छ। त्यही तथ्यांङ्कलाई मात्र आधार मान्ने हो भने पनि टप टेन क्यान्सर भित्र प्रोष्टेट क्यान्सर रहेको पाईदैन। यति भन्दै गर्दा पछिल्लो समयमा हाम्रो जिवनशैलि वेष्टनाईज भैसकेकोले यसमा सजकता अपनाउन भने एकदमै जरुरी छ।
यो रोग लागेको कसरी थाहा पाउने? सुवाती लक्षणहरु के कस्ता हुन्छन् र प्रोष्टेट क्यान्सर लागिसकेपछि अन्तिम अवस्थामा कस्ता चिन्न वा लक्षणहरु देखा पर्दै जान्छन्?
सबै भन्दा पहिला त यो रोग लागेको भए पिसाप फेर्न निकै गाह्रो हुने गर्दछ। जस्तो की छिटो-छिटो पिसाब लाग्ने वा पिसाव नै नआईदिने हुन्छ भने पिसाव फेर्दा पोल्ने वा दुख्ने पनि हुन्छ। जसरि महिलाहरुलाई युरिन इन्फेक्सन भएको बेला तल्लो ढाड पोल्ने वा दुख्ने हुन्छ त्यसैगरि पुरुषहरुको पनि पेट वा ढाड दुख्ने, यौन सम्पर्क गर्दा लिङ्ग दुख्ने, पिसावमा रगत देखा पर्न थाल्यो भने कतै प्रोष्टोट क्यान्सर पो भयोकी भनि ध्यान दिनु पर्दछ।
प्रोष्टेट क्यान्सर भन्दा पनि अगाडी हुने युरिन इन्फेक्सन र बिपीएच जस्ता जुन प्राकृतिक रुपमा उमेर बढे संगै प्रोष्टेटको आकार पनि बढ्दै जाने गर्दछ र पिसाव नलि (युरेथा) लाई कम्प्रेस गर्नसक्छ। त्यस्तो गर्दा अहिले मैले भनेका पिसाव सम्वन्धिका सबै समस्याहरु देखा पर्ने गर्दछन्। यदि यस्तो भएको खण्डमा नजिकको अस्पतालमा गएर विज्ञ युरोलोजिष्टसंग परामर्स लिइ उपचार गर्न सल्लाहा दिन्छु।
क्यान्सर भन्ने बित्तिकै अहिले पनि हाम्रो देशमा राम्रो उपचार छैन भन्ने खालको आम बुझाई छ। हामीले देखिरहेका पनि छौं क्यान्सरका रोगीहरु उपचारका लागि छिमेकी मुलुक भारत लगायतका विभिन्न देशमा जाने गरेका छन्। के छ हाम्रो देशमा क्सान्सर रोगको उपचार गर्ने अवस्था र प्रोष्टेट क्यान्सरको उपचार कत्तिको खर्चिलो छ?
हो विभिन्न क्यान्सरका बिरामीहरु १० वर्ष अगाडी बाहीर गएर उपचार गरेर फर्केको मैले पनि देखेको छु। तर यो १० वर्ष पछाडी धेरैलाई थाहा छैन होला यो कुरा, यहाँहरुको मिडिया मार्फत भन्न चहान्छु मुटु रोगका लागि बाहिर कतै जानु पर्ने अवस्था छैन। यो कुरा निर्धक्कसंग भन्न सक्छु, हाम्रो देशमा मुटु रोगको सतप्रतिशत उपचार संभव भएको छ। जस्तोकी अब्वल डाक्टर नर्सहरुको म्यानपावर छ। विभिन्न मेडिकल मेसिन र इन्स्टुमेन्ट हाम्रा अस्पतालहरुमा उपलब्ध भइसकेकोले ढुक्कसंग नेपालमै उपचार गर्न सकिन्छ।
क्यान्सरको उपचारमा हामी अझैं पनि इनिसियल फेजमा छौं भन्ने कुरा सत्य हो तर यति भन्दै गर्दा क्यान्सरको उपचार नै नहुने भन्ने होईन। प्रोष्टेट क्यान्सर लगायत सबै प्रकारका क्यान्सरको उपचार नेपालमा संभव भइसकेको छ। प्रोष्टेट क्यान्सरको उपचार हामी तीन तरिकाले गर्ने गर्दछौं। एक नंबरमा औषधि दिएर, दुईमा अप्रेशन गर्ने र तिनमा रेडियो थेरापीबाट, सुरुवाति अवस्थामा औषधि दिएर उपचार गर्न कतै जानु पर्दैन। खर्च पनि धेरै लाग्दैन र आत्तिहाल्नु पनि पर्दैन।
अप्रेशन गर्नु पर्यो भने दुईवटा विधि छन: एउटा हो र्याडिकल प्रोसेक्टेमी र रोबटिक सर्जरी, र्याडिकल प्रोसेक्टेमी भनेको अप्रेशनको माध्यामबाट प्रोष्टेट सबै फाल्ने हो। जसका लागि हामीसंग धेरै अब्व-अब्वल चिकित्सकहरु हुनुहुन्छ। यो पनि पुरै नेपालमा नै सम्भव छ। तर दुर्भाग्यवस रोबटिक सर्जरी गर्नु पर्यो भने मात्र तपाँईहरु विदेश जानु पर्ने हुन्छ। मलाई लाग्छ यो रोबटिक सर्जरी हाम्रो देशमा हालसम्म उपलब्ध भएको छैन।
त्यस्तै रेडियो थेरापी पनि प्रोष्टेट क्यान्सरको लागि अत्यावस्यक उपचार विधि हो। हाम्रो देशमा पछिल्लो उपलब्धि भनेको इभिआर्टी, ब्य्रागिट थेरापी र प्रोटोन थेरापी छन्। यसमा पनि इभिआर्टी र ब्य्रागिट थेरापी नेपालमै संभव छ भने प्रोटोन थेरापीका लागि मात्र विदेश जानुपर्ने हुन्छ। तथापी प्रोष्टेट क्यान्सर हुँदैमा कोही पनि विदेश जानु पर्दैन। एक पटक हाम्रा अस्पतालहरुमा देखाउनुहोस् यस क्षेत्रका अब्बल डाक्टरहरु हुनुहुन्छ। म पनि मेडिकल अनक्लुजिष्ट हुँ, त्यसै गरि वरिष्ट यूरो सर्जन तथा युरोलोजिष्ट डाक्टरहरु छौं, हामीले नेपालमा संभव छैन भनेपछि मात्र विदेश गएर उपचार गर्न सल्लाहा दिन्छु। अन्यथा देशमै संभव भएका उपचारहरुमा विदेश गएर अनावस्यक खर्च गरि आर्थिकरुपमा कम्जोर नहुन पनि अनुरोध गर्दछु।
रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो भनिन्छ। हुन त अहिले धेरै खालका रोगहरु सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि भइरहेका हामी देख्न र सुन्न सक्छौं। त्यस्तै यो प्रोष्टेट क्यान्सर पनि लागेर उपचार गर्नु भन्दा लाग्न नदिन के कस्ता उपाय वा सजकता अपनाउनु पर्ला?
एकदमै समय सान्दर्भिक र निकै महत्वपुर्ण प्रश्न सोध्नुभयो। यो हामी सबैले जान्नु पर्दछ। अबको २१ औं सताप्दीको मुख्य ईन्भेष्टमेन्ट फोकस भनेको कसरी रोग लाग्नु भन्दा पहिले नै थाहा पाउने अथवा कसरी रोग लागेको सुरुवाति अवस्थामै थाहा पाउने भन्ने नै हो। मेरा प्यासेन्टहरुलाई जहिले पनि म यो भन्छु की क्यान्सर रोग, सुगर र प्रेसर रोग भन्दा राम्रो हो। कतिबेला सम्म यो सुगर र प्रेसर भन्दा राम्रो हो भने जतिबेला हामीले क्यान्सर लागेको सुरुवाती अवस्थामै पत्ता लगाउछौं र यसको सुरुमै उपचार गरिन्छ भने यो सतप्रतिशत निको पार्न सकिन्छ तसर्थ सुगर प्रेसर भन्दा राम्रो हो।
सुगर प्रेशरमा जस्तो जिवनभरी औषधि खानु तथा खाने कुरा बार्ने भन्ने छैन प्रोष्टेट क्यान्सरमा त्यसैले यो प्रोष्टेट क्यान्सर लागेको सुरुमै पत्ता लागेको खण्डमा सत प्रतिसत निको पार्ने तरिकाले उपचार गर्न सकिन्छ। अथवा थेरापी गर्नु पर्ने अवस्था भए पनि खाने कुरामा त्यस्तो कडाईका साथ ध्यान दिने भन्ने हुँदैन। जस्तो की सुगर भए गुलियो, अमिलो, भात, लगायत कार्बोहाईड्रेट दिने खानेकुरा बार्नु पर्यो वा खानुभएन। प्रेसर भएमा नुन, चिल्लो, पिरो खानु भएन। प्रोष्टेट क्यान्सरमा त्यस्तो हुँदैन।
हामीले यो रोग मात्र नभइ अरु कुनै पनि रोग लाग्न नदिन वा रोगबाट बच्न के केस्ता उपायहरु अपनाउने त भन्ने कुरा सबै भन्दा पहिला त स्वस्थ रहन दैनिक जिवनमा शारिरीक ब्यायम र स्वास्थप्रदक खानपानमा ध्यान दिनु नै हो। त्यो भन्दा अलावा हामीले मेडिकल भाषामा स्क्रिनिङ भन्छौ जुन कुरा हामीले कुनै पनि रोग पत्ता लगाउनका लागि गर्दछौं। अर्को कुरा स्क्रिनिङ गर्न मिल्ने वा गरेर रोग पत्तालाग्ने मुख्य तीनवटा क्यान्सर मात्र छन्, जसमा महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र ठुलो आन्द्राको क्यान्सर हो।
प्रोष्टेट क्यान्सरको चाँही ठुलो बिवाद छ। नेपालमा मात्र नभएर विदेशमा पनि प्रोष्टेटको क्यान्सर स्क्रिनिङ गर्नु पर्छ भन्छन् भने कोही गर्नु पर्दैन भन्छन्। अहिले सम्म पनि यस विषयमा निकै ठुलो डिबेट चलिरहेको छ। तर हामीले अहिले गरिरहेको स्क्रिनिङ टुल चाँही प्रोष्टेट स्पेसिफिक एन्टिजीन (पीएसए) जुन प्रोष्टेट ग्रन्थीबाट निस्किन्छ यो संगै अर्को डिजिटल रेक्टर ईक्जामिनेसन (डिआरइ) हो। कस्ता मानिसहरु यस्तो परिक्षणमा जानु पर्छ भने जसको परिवारमा बुवा, बाजे वा दाजुभाईलाई प्रोष्टेट क्यान्सरको समस्या छ वा आमा, हजुरआमालाई बीआरसी-१, बीआरसी-२ पोजेटिभ छ त्यस्ता मानिस स्क्रिनिङमा जानु पर्ने हुन्छ।
अर्को अफ्रिकन अमेरिकनहरु जो अलि उच्च जोखिममा छन् वंशाणुगत गुणका कारण पनि तिनिहरु स्क्रिनिङमा जानु पर्छ। धेरै मोटा मानिसहरु जो कम श्रम गर्छन्, त्यस्ता मानिसहरु पनि प्रोष्टेटको स्क्रिनिङमा जान सक्छन्। पछिल्लो समय के पनि आइसकेको छ भने यदि तपाँईहरु जो कोही ५५ वर्ष पुगिसक्नु भएको छ वा त्यो भन्दा बढी उमेरको भइसक्नु भएको छ भने त्यस्ता मानिसहरुले पनि विज्ञ चिकित्सकहरुसंग यसका फाईदा र बेफाईदा राम्रोसंग बुझेर स्क्रिनिङमा जान सक्नुहुन्छ। यसमा हामीले सबैलाई अनिबार्य गर्नुपर्छ भन्ने छैन। कसैले आफ्नो स्वास्थको ख्याल गर्दै राम्रोसंग बुझ्न यसका फाईदा बेफाईदा वा परिवारको हिस्ट्रिअनुसार स्क्रिनिङ गर्छु भन्नुभएको खण्डमा हामीले स्क्रिनिङ गरेर पत्ता लगाउने हो।
नेपालमा प्रोष्टेट क्यान्सर पब्लिक हेल्थमा नपर्ने भएकोले यो रोगका बारेमा त्यस्तो भयाबह बन्ने अवस्था पनि छैन। तसर्थ यसका लागि अहिलेनै गाउँ-गाउँमा गएर मानिसहरुको स्क्रिनिङ गर्नु पर्छ भन्ने छैन। म फेरि पनि दोहर्याउछु प्रोष्टेट क्याम्सर अन्य रोग भन्दा सामान्य हो, यदि यसलाई हामीले समयमै पहिचान गर्न सक्यौं र उपचार गर्यौ भने यो सतप्रतिशत निको हुने रोग हो।
अन्तमा यहाँलाई आम जनताको स्वास्थ्यको बारेमा हामीले सोध्न छुटाएको कुरा केही भन्नु छ?
फेरी पनि धन्यबाद! यहाँहरुको प्रतिष्ठित मिडिया मार्फत म आम जनता सबैलाई यही भन्न चहान्छु की हामीले हाम्रो जिवशैलिलाई ध्यान दियौं, जस्तै: स्वस्थ खानपान, नियमित ब्यायम, र आवस्यक मात्रामा आराम यि तीन कुरालाई ध्यान दियौं भने स्वस्थ जिवन यापन गर्न सकिन्छ र कुनै पनि रोग लागेर अकालमा ज्यान र आफन्त गुमाउनु पर्दैन।
तपाईको प्रतिक्रिया