आइतबार २४ फाल्गुण २०८२
अर्थ

आयल निगमले भन्यो- पेट्रोलको अनावश्‍यक स्टोर नगर्नू

सोमबार फाल्गुण १८, २०८२/ Monday 03-02-26

काठमाडौं । इरान माथि अमेरिका र इजरायल ले शनिबार संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वको अवस्था थप तनावग्रस्त बनेको छ। इरानले पनि जवाफी कारबाही थालेसँगै द्वन्द्व चर्किने संकेत देखिएको छ, जसले विश्वव्यापी कच्चा तेल आपूर्ति र मूल्यमा असर पार्ने अनुमान गरिएको छ।

इरान विश्वका प्रमुख कच्चा तेल उत्पादक राष्ट्रमध्ये एक हो र यसले चीन, भारत, ओमान तथा अफगानिस्तानलगायत देशमा ठूलो परिमाणमा कच्चा तेल निर्यात गर्दै आएको छ। यसबीच, विश्वकै व्यस्त तेल पारवहन मार्ग मानिने हर्मुज जलडमरूमध्य बाट हुने आपूर्तिमा अवरोध आउन सक्ने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १३ प्रतिशतसम्म बढेको छ।

नेपालले आफ्नो सम्पूर्ण पेट्रोलियम पदार्थ भारतमार्फत आयात गर्दै आएको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन मार्फत प्रशोधित इन्धन ल्याउने व्यवस्था छ। भारतले आफ्नो आवश्यकताको ठूलो हिस्सा मध्यपूर्वबाट आयात गर्ने भएकाले त्यहाँ आपूर्तिमा समस्या आए भारत हुँदै नेपाल आउने पेट्रोलियम पदार्थमा पनि असर पर्न सक्ने आशंका गरिएको छ।

सम्भावित अभावको त्रासका कारण लगातार बिदा परेकाले आइतबार बिहानदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा इन्धन भर्नेको भीड बढेको छ।

तर निगमले भने तत्काल कुनै समस्या नपर्ने स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहेको र उपभोक्ताले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। साथै, कार्यकारी निर्देशक चण्डिका भट्टले पाइपमार्गबाट इन्धन नियमित रूपमा आइरहेको र निर्वाचन अवधिमा पनि पर्याप्त मात्रामा आपूर्ति जारी रहने जानकारी दिएका छन्।

उनले पेट्रोलियम पदार्थ ड्रम वा जेरीक्यानमा भण्डारण गर्दा आगलागीको जोखिम बढ्ने भएकाले अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेका छन्। सम्भावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया