आइतबार २४ फाल्गुण २०८२
राजनीति

बालेनले लगभग ४ गुणाको मतान्तरमा ओलीलाई पछाडि पार्दै रचे इतिहास

बालेन बन्नेछन् नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री
शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार बालेनले ६८,३४८ मत पाएर नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ४९,६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।

यो निर्वाचन झापा–५ मा यस वर्ष सबैभन्दा बढी चर्चा र प्रत्याशित प्रतिस्पर्धाको केन्द्र थियो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहको उम्मेदवारी घोषणा भएपछि, ओलीसँगको भिडन्तले निर्वाचनलाई राष्ट्रिय स्तरको राजनीतिक सनसनी बनायो। ओलीको लालकिल्ला मानिएको झापा ५ मा यसपटक ओली जम्मा १८ हजार ७ सय ३४ मतमै सिमित भए। 

को हुन् बालेन?

३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन्। चार वर्षअघि र्‍यापरका रूपमा चर्चित उनी २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयरमा विजयी भएका थिए। यस नतिजाले नयाँ पुस्ताको राजनीतिक सोचमा परिवर्तन र समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिँदैछ भन्ने स्पष्ट संकेत दिएको थियो।

गौरीगाउँ, काठमाडौंका बालेन शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्नातकोत्तर गरेका शाह पेशागत रूपमा देशका ६५ जिल्ला भ्रमण गरिसकेका छन्।

२०७२ को महाभूकम्पपछिको उद्धार र राहतका कामले उनी समाजसेवीको रूपमा पनि चिनिएका छन्। नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्‍यापर, कवि–लेखक शाहको राजनीतिक उदय मुख्य रूपमा सामाजिक सञ्जाल र भर्चुअल दुनियाँमा बढी प्रभावशाली छ।

 

तपाईको प्रतिक्रिया