धनुषा-१ का विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका आफ्ना उम्मेदवारलाई हालसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोग नेपाल को ध्यानाकर्षण गराएको छ।
सोमबार पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्य ले विज्ञप्ति जारी गर्दै धनुषा–१ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको भए पनि आयोगले अझै प्रमाणपत्र उपलब्ध नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विज्ञप्तिमा आयोगकै निर्देशन अनुसार फागुन २२ गते मतगणना सम्पन्न गरी परिणाम घोषणा गरिएको र त्यसमा मातृकाप्रसाद यादव विजयी भएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा पनि प्रमाणपत्र नदिनु आयोगको आफ्नै प्रक्रिया र कानुनी व्यवस्था विपरीत भएको पार्टीको भनाइ छ।
पार्टीले आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले किशोरी साह कमल को उम्मेदवारी निर्वाचन ऐन, २०७४ अनुसार खारेज गरिसकेको पनि स्मरण गराएको छ।
नेकपाले विज्ञप्तिमार्फत संवैधानिक निकायका रूपमा रहेको निर्वाचन आयोगलाई विधिको शासन पालना गर्दै कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानुन र प्रक्रिया अनुसार उचित निर्णय गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया