राष्ट्रिय सभाका नवनिर्वाचित १८ सांसदले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन्।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ। यसैअनुसार फागुन २० गते १९ जना सांसदको कार्यकाल सकिएपछि रिक्त पदमध्ये एक सिट राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान रहेकाले बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो।
निर्वाचनबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन्। मधेस प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा विजयी भएका छन्।
त्यस्तै, बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन्।
तपाईको प्रतिक्रिया