मंगलबार २६ फाल्गुण २०८२
अर्थ

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित, ६ प्रतिशत बढ्यो नेप्से

सोमबार फाल्गुण २५, २०८२/ Monday 03-09-26

काठमाडौं । सेयर बजारमा तीव्र वृद्धि भएपछि सोमबारको कारोबार तीन पटक सर्किट ब्रेक लागेर स्थगित भएको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक कुल ६ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लाग्दै दिनभरका लागि कारोबार रोकिएको हो।

सोमबारको अन्त्यसम्म नेप्से परिसूचक १६२ अंकले वृद्धि भई २८७५ बिन्दुमा पुगेको छ। यस अवधिमा करिब ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्मको नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमतको नजिक पुगेको संकेत देखाएको छ। यसले लगानीकर्तामा उत्साह बढाउँदा बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।

कारोबार सुरु भएको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि रोकिएको थियो। पुनः खुलेपछि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजारमा एक मिनेट नपुग्दै तेस्रो सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो।

आज २५२ कम्पनीको सेयर मूल्य बढ्दा केवल रिलायन्स स्पिनिङ मिल्स को मूल्य भने १.४९ प्रतिशतले घटेको छ।

क्षेत्रगत रूपमा अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको छ। बैंकिङ ६.९२ प्रतिशत, विकास बैंक ५.९१, फाइनान्स ५.४७, होटल तथा पर्यटन ५.७३, हाइड्रोपावर ६.८१, लगानी ७.०६, जीवन बीमा ४.६७, उत्पादन तथा प्रशोधन ५.३०, माइक्रोफाइनान्स ४.०७, निर्जीवन बीमा ३.७४, अन्य ५.५६ तथा व्यापार समूह ७.७३ प्रतिशतले बढेका छन्।

आज करिब एक दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, सिटी होटल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक लिमिटेड, बलेफी हाइड्रोपावर, माथिल्लो तामाकोशी हाइड्रोपावर, शुभम् पावर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमस्टार ऊर्जा र हिमाल दोलखा हाइड्रोपावर रहेका छन्।

कारोबार रकमका आधारमा भने नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, एसवाई प्यानल नेपाल, ङादी ग्रुप पावर र राधि विद्युत् कम्पनी अग्रस्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया