मंगलबार २६ फाल्गुण २०८२
अर्थ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

मंगलबार फाल्गुण २६, २०८२/ Tuesday 03-10-26

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग अवरुद्ध नगर्न चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै इरानले उक्त जलमार्गमार्फत हुने तेल आपूर्ति रोक्ने प्रयास गरेमा अमेरिकाले अहिलेको भन्दा २० गुणा कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

यसपछि मंगलबार बिहान एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य करिब ६ प्रतिशतले घटेर प्रतिब्यारेल ९३ डलरमा झरेको छ। यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा तेल आपूर्ति प्रभावित हुने चिन्ताले सोमबार तेलको मूल्य करिब १२० डलर प्रतिब्यारेल नजिक पुगेको थियो। तर ट्रम्पले युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत दिएपछि मूल्यमा गिरावट आएको हो।

यद्यपि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्र्स (आईआरजीसी) ले अमेरिका र इजरायलविरुद्ध शक्तिशाली मिसाइल आक्रमण जारी रहने चेतावनी दिँदै ट्रम्पसँग वार्ता नगर्ने बताएको छ।

मंगलबार देखिएको मूल्य गिरावटले केही राहत दिएको भए पनि ऊर्जा बजार अझै तनावपूर्ण अवस्थामै रहेको विश्लेषकहरूले बताएका छन्। द्वन्द्व थप चर्किएमा तेलको मूल्य फेरि बढ्न सक्ने उनीहरूको अनुमान छ।

‘स्ट्रेट अफ हर्मुज’ विश्वकै महत्वपूर्ण तथा साँघुरो जलमार्गमध्ये एक हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा पार हुन्छ।

तपाईको प्रतिक्रिया