मंगलबार २६ फाल्गुण २०८२
समाज

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

मंगलबार फाल्गुण २६, २०८२/ Tuesday 03-10-26

काठमाडौं  । बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा विरुद्ध विशेष खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नगरपालिकाभित्र १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइनेछ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ढोरपाटन नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा पुष्टि भएको छ। साथै ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको जनाइएको छ।

डा. गौतमका अनुसार सङ्घ र प्रदेशबाट चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ र दादुराको सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको छ। प्रारम्भिक जानकारीअनुसार फागुनको पहिलो साता भारतबाट आएका एक सङ्क्रमित व्यक्तिबाट रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ।

उनले भारतबाट आएका ती बिरामीले कसैलाई जानकारी नदिई अस्पतालमा उपचार गराएका थिए र त्यहीँबाट अन्य व्यक्तिमा संक्रमण सरेको हुन सक्ने बताए। दादुरा एक अत्यन्त सङ्क्रामक रोग भएकाले एक व्यक्तिबाट अर्कोमा सर्न करिब १४ दिन लाग्ने हुँदा अहिले मात्र संक्रमण फैलिएको थाहा भएको उनले बताए।

दादुराबाट एक जना सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे। यसैबीच थप परीक्षणका लागि १४ जनाको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

हाल उक्त क्षेत्रमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका करिब ३० जना बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

तपाईको प्रतिक्रिया