काठमाडौं। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका २०६ जनामध्ये १४४ जनाको जमानत जफत भएको छ। प्रदेशका नौ जिल्लाअन्तर्गत रहेका १६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ती उम्मेदवारहरूले आवश्यक मत सीमा कटाउन नसक्दा जमानत जफत भएको हो।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच निर्वाचन क्षेत्रमा कुल ७५ जना उम्मेदवार चुनावी मैदानमा थिए, जसमध्ये ५८ जनाले दुई हजार मत कटाउन नसक्दा जमानत गुमाएका छन्। कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारमध्ये ४२ जनाको जमानत जफत भएको छ।
यस्तै, डडेल्धुरामा चुनाव लडेका १३ जनामध्ये ९ जना, बैतडीमा ११ जनामध्ये ६ जना र दार्चुलामा ११ जनामध्ये ७ जनाले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको छ।
त्यसैगरी डोटीका ९ उम्मेदवारमध्ये ५ जना, बझाङका ७ मध्ये ३ जना, अछाम–१ मा उठेका ८ मध्ये ५ जना र बाजुराका ८ उम्मेदवारमध्ये ४ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया