बिहीबार २८ फाल्गुण २०८२
राजनीति

समानुपातिकतर्फ रास्वपाको ऐतिहासिक अग्रता, कांग्रेस ३३ लाखभन्दा बढी मतले पछाडि

बुधबार फाल्गुण २७, २०८२/ Wednesday 03-11-26

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म करिब एक करोड ७ लाख ३० हजारभन्दा बढी मत गणना भइसकेको छ। गणनाको पछिल्लो विवरणअनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बन्ने संकेत दिएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपाभन्दा ठूलो मतान्तरले पछाडि परेको छ। आयोगका तथ्यांकअनुसार कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ, जुन रास्वपाभन्दा करिब ३३ लाख ८७ हजार ८८४ मत कम हो।

तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ भने चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ३ हजार ६२७ मत प्राप्त गरेको छ।

यस पटक पहिलो पटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी भने उल्लेखनीय मतसहित राष्ट्रिय दल बन्ने दिशामा देखिएको छ। उक्त पार्टीले हालसम्म ३ लाख ७८ हजार ५८७ मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४५७ मत पाएको छ।

अन्य केही दलले भने अझैसम्म समानुपातिक प्रणालीमा आवश्यक थ्रेसहोल्ड कटाउन सकेका छैनन्। थ्रेसहोल्ड पार गर्न नसक्ने दलहरू राष्ट्रिय दलको मान्यता पाउने छैनन्।

हालसम्मको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपाल ले १ लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ७१ हजार ४९७ तथा जनमत पार्टी ले ७८ हजार ९४९ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फको मतगणना अझै जारी छ।

उता प्रत्यक्षतर्फ १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दै भारी सफलता हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १८ सिट, एमाले ले ९ सिट तथा नेकपा ले ७ सिट जितेका छन्।

त्यस्तै श्रम संस्कृति पार्टी ले ३ सिट, राप्रपा ले १ सिट र स्वतन्त्र उम्मेदवार ले १ सिट जितेका छन्।

 

तपाईको प्रतिक्रिया