१८२ सिटसहित सबैभन्दा ठूलो दल बन्यो रास्वपा,दुई तिहाइका लागि पुगेन २ सिट
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को नयाँ शक्ति–सन्तुलन स्पष्ट भएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकबाट करिब ५७ सिट पाउने अनुमान गरिएकाले उसले कुल १८२ सिट पुर्याउने देखिएको छ। यससँगै रास्वपा संसद्को सबैभन्दा ठूलो दल बनेको छ र दुई तिहाइ बहुमत (१८४ सिट) बाट मात्र दुई सिटले टाढा रहेको छ।
समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६८१ मत (करिब ४७% भन्दा बढी) प्राप्त गरेको छ।
नेपाली कांग्रेसले समानुपातिकबाट २० सिट पाउने देखिएको छ। प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने अनुमान छ।
नेकपा एमालेले समानुपातिकबाट १६ सिट र प्रत्यक्षमा ९ सिट जितेकाले कुल २५ सिट हुने देखिएको छ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ र प्रत्यक्षमा ८ सिट जितेर कुल १७ सिट पाउने देखिएको छ।
श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकमा ४/४ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृतिको कुल ७ सिट र १ सिट जितेको राप्रपाको कुल ५ सिट हुनेछ।
यस निर्वाचनपछि प्रतिनिधिसभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र श्रम संस्कृति गरी ६ दल राष्ट्रिय दल बन्ने भएका छन्।
निर्वाचन आयोगका अनुसार अब समानुपातिक सिटको औपचारिक बाँडफाँट गरी दलहरूलाई बन्दसूचीबाट सांसद सिफारिस गर्न पत्र पठाइनेछ।
तपाईको प्रतिक्रिया