बिहीबार २८ फाल्गुण २०८२
राजनीति

समानुपातिक मतगणना सम्पन्न : रास्वपा अग्रस्थानमा, सिट बाँडफाँटको तयारी

बुधबार फाल्गुण २७, २०८२/ Wednesday 03-11-26

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्ततः सम्पन्न भएको छ।

गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिक प्रणालीतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार मतगणनाको विवरण सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा आउने क्रम अझै जारी छ।

मतगणना पूरा भएसँगै समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार केही दिनभित्रै सिट बाँडफाँटको अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

निर्वाचन आयोगका अनुसार आज बिहान ११ बजेसम्म समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ।

प्राप्त मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मत सहित अग्रस्थानमा रहेको छ।

नेपाली कांग्रेस ले १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ भने नेकपा एमाले ले १४ लाख ४८ हजार ८५४ मत ल्याएको छ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी ले ८ लाख ५ हजार ७७३ मत, श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६४९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्।

हालसम्मको परिणामअनुसार अन्य दलहरूले भने समानुपातिक प्रणालीको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउने सम्भावना देखिएको छैन।

 

तपाईको प्रतिक्रिया