बिहीबार २८ फाल्गुण २०८२
समाज

सिरहामा ‘मधेश ल फर्म’मा बम विस्फोट, एकजना घाइते

बुधबार फाल्गुण २७, २०८२/ Wednesday 03-11-26

सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन्। बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा फर्ममा कार्यरत सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्नेबारे अझै यकिन भइसकेको छैन। घटनास्थल वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट भने फेला परेको छैन।

घटनास्थलमा प्रहरी र नेपाली सेनाको टोली खटिएको छ भने चोहर्वास्थित नन्दाबक्स गणबाट बम निष्क्रिय टोली समेत पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विस्फोटपछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको छ।

 

तपाईको प्रतिक्रिया