बिहीबार २८ फाल्गुण २०८२
राजनीति

चेक बाउन्स प्रकरणमा मुछिएका तामाङ उदयपुर–२ बाट प्रतिनिधिसभामा विजयी

बुधबार फाल्गुण २७, २०८२/ Wednesday 03-11-26

विराटनगर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार तामाङ १४ हजार ८०२ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ र नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत पाएका थिए।

कर्जा सूचना केन्द्रको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि पटक–पटक चेक बाउन्स प्रकरणमा मुछिएपछि कम्पनी र सञ्चालकलाई कालो सूचीमा राखिएको उल्लेख छ। विभिन्न समयमा लाखौँदेखि करोडौँ रुपैयाँसम्मका चेक नसाटिएको विवरण सार्वजनिक भएको छ।

तामाङले भने आफू कालो सूचीमा रहेकोबारे जानकारी नभएको बताएका छन्। उनले व्यक्तिगत बैंक खाता खोलेर निर्वाचन खर्च गरेको दाबी गर्दै आफूविरुद्ध भ्रम फैलाइएको प्रतिक्रिया दिएका छन्।

निर्वाचन अधिकारीहरूका अनुसार परिणाम घोषणा भइसकेपछि आयोगले उम्मेदवारको आर्थिक पृष्ठभूमिका विषयमा कारबाही गर्न सक्दैन। असन्तुष्ट पक्षले अदालतमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था रहेको छ।

 

तपाईको प्रतिक्रिया