काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली जडानको तयारीका कारण राहदानी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ।
विभागका अनुसार पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान हुने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्छ। राहदानी विभागबाट सिधै प्रदान गरिने सेवा भने करिब एक सातासम्म अवरुद्ध हुनसक्ने जनाइएको छ।
नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला प्रशासन, इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीले राहदानी पाउन हालभन्दा केही बढी समय लाग्न सक्ने बताइएको छ।
विभागले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। नयाँ प्रणाली जडानसम्बन्धी विस्तृत सूचना छिट्टै सार्वजनिक गरिने विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया