शनिबार ३० फाल्गुण २०८२
राजनीति

सरकार गठनअघि विधान संशोधनकाे तयारी गर्दै रास्वपा

शुक्रबार फाल्गुण २९, २०८२/ Friday 03-13-26

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ सिट जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको तयारी थालेको छ। संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

तर रास्वपाको विधानमा संघीय निर्वाचनअघि नै संसदीय दलको नेता चयन गर्नुपर्ने उल्लेख भए पनि पार्टीले यो प्रक्रिया पूरा गरेको थिएन। पार्टी प्रवक्ता तथा नवनिर्वाचित सांसद मनिष झाले चुनावको व्यस्तताका कारण यो काम गर्न नभ्याइएको बताएका छन्।

पार्टी विधानअनुसार संसदीय दलको नेता चयन गर्न सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था छ। यदि चयन भएको नेता निर्वाचनमा पराजित भएमा विजयी इच्छुक उम्मेदवारहरूबीच पुनः मतदान गरेर नेता छान्ने प्रावधान पनि छ।

यसबीच पार्टी सभापति रवि लामिछाने र बालेन शाहबीच भएको सात बुँदे सहमतिअनुसार बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने समझदारी भएको बताइएको छ। तर विधानअनुसार प्रक्रिया पूरा नभएकाले यस विषयमा कानुनी प्रश्न उठ्ने सम्भावना देखिएको छ।

त्यसैले रास्वपाले सरकार गठनअघि केन्द्रीय परिषद्को सामान्य बहुमतबाट विधान संशोधन गर्ने तयारी गरेको जनाएको छ। पार्टीका शीर्ष नेताहरू चुनावी थकानका कारण बिरामी भएकाले केही दिनमै यस विषयमा औपचारिक निर्णय हुने बताइएको छ।

तपाईको प्रतिक्रिया