पाँच वर्षदेखि जारी इरान–रूस–चीनको नौसैनिक अभ्यास : किन यसपटक फरक रूपमा हेरिँदैछ ?
इरान, रूस र चीनले ओमानको खाडीमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन्। तीन देशले संयुक्त सैन्य अभ्यास सञ्चालन गरेको यो लगातार पाँचौँ वर्ष हो। तर यसपटकको अभ्यासलाई सामान्य सैन्य तालिमभन्दा फरक सन्दर्भमा पनि विश्लेषण गर्न थालिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ‘मेरिन सेक्युरिटी बेल्ट २०२५’ नाम दिइएको उक्त अभ्यास इरानको चाबहार बन्दरगाह नजिक मंगलबारबाट सुरु भएको हो। अभ्यासको उद्देश्य सहभागी देशका नौसेनाबीच सहयोग र समन्वय सुदृढ गर्नु रहेको बताइएको छ।
अभ्यासका क्रममा समुद्री लक्ष्यमा आक्रमण, क्षति नियन्त्रण तथा संयुक्त खोज तथा उद्धार कार्यजस्ता गतिविधि सञ्चालन गरिने जनाइएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार दुई दिनसम्म जहाजका चालकदलले दिन र रात दुवै समयमा ठूलो क्यालिबरका मेसिनगन र साना हतियार प्रयोग गर्दै अभ्यास गरेका छन्। ती अभ्यासहरू मानवरहित डुंगा र मानवरहित हवाई उपकरणजस्ता काल्पनिक शत्रुलाई लक्षित गरी गरिएको बताइएको छ।
यद्यपि यस्तो अभ्यास पाँच वर्षदेखि हुँदै आएको भए पनि अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति फरक भएकाले यसलाई राजनीतिक र रणनीतिक दृष्टिले पनि हेरिन थालेको छ। पछिल्ला समय मध्यपूर्वमा बढ्दो तनाव, समुद्री मार्गको सुरक्षा र विश्व शक्ति सन्तुलनको बहसका कारण यो अभ्यासले थप ध्यान आकर्षित गरेको हो।विशेषगरी ओमानको खाडी र नजिकैको हर्मुज जलडमरु विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ। त्यसैले यहाँ हुने सैन्य गतिविधि केवल अभ्यास मात्र नभई समुद्री मार्गको सुरक्षा, क्षेत्रीय प्रभाव र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग पनि जोडेर हेरिने गरिन्छ।
यस अर्थमा हेर्दा, इरान, रूस र चीनको संयुक्त नौसैनिक अभ्यास नियमित सैन्य तालिम भए पनि वर्तमान विश्व राजनीतिक सन्दर्भका कारण यसपटक यसलाई फरक कोणबाट बुझ्ने प्रयास भइरहेको देखिन्छ।
तपाईको प्रतिक्रिया