शनिबार ३० फाल्गुण २०८२
बिजनेस

ग्यास आपूर्तिमा समस्या छैन, अनावश्यक सञ्चिति नगर्न आयल निगमको आग्रह

शुक्रबार फाल्गुण २९, २०८२/ Friday 03-13-26

काठमाडौं। नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म मागअनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए।

अभाव हुने हल्लाका कारण उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चिति बढाएकाले अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए।

उनले अहिले बजारमा देखिएको कृत्रिम अभाव समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरिएको बताए।

नेपालमा पर्याप्त रूपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न उनले आम उपभोक्तालाई आग्रह गरे।

प्रवक्ता ठाकुरले आजसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भए पनि भोलिका दिनमा के हुन्छ भन्ने स्पष्ट हुन नसकेको बताए।

उनले डिजेल र पेट्रोलको हकमा १५–१५ दिनमा नयाँ मूल्य सूची आउने भए पनि हवाई इन्धन र एलपी ग्यासको हकमा एक महिनामा नयाँ मूल्य सूची आउने भएकाले नयाँ सूची प्राप्त भएपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने निर्णय हुने बताए।

 

तपाईको प्रतिक्रिया