इरान–अमेरिका तनाव बढ्दा विश्व बजारमा इन्धन मूल्य ४० प्रतिशतले बढ्यो
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमध्य हुँदै तेल ट्याङ्करको सुरक्षित आवतजावत सुनिश्चित गर्न विश्वका प्रमुख शक्तिलाई सहयोग गर्न आह्वान गरेका छन्।
इरानले अमेरिका र इजरायलविरुद्धको सैन्य अभियानको प्रतिक्रिया स्वरूप उक्त समुद्री मार्गबाट हुने इन्धन ढुवानीमा अवरोध सिर्जना गरेपछि विश्व बजारमा ऊर्जाको मूल्य तीव्र रूपमा बढेको छ। ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशलाई तेल ट्याङ्करको सुरक्षाका लागि जहाज पठाउन आग्रह गरेका हुन्।
यसबीच इरानले अन्य देशहरूलाई अमेरिका र इजरायलसँगको द्वन्द्वमा संलग्न नहुन चेतावनी दिएको छ। इरानका विदेशमन्त्रीले फ्रान्सका विदेशमन्त्रीसँगको कुराकानीमा द्वन्द्व थप नबढाउनेतर्फ सावधानी अपनाउन आग्रह गरेका छन्।
तनाव बढ्दै जाँदा विश्व बजारमा इन्धनको मूल्य करिब ४० प्रतिशतसम्म बढेको बताइएको छ। यसैबीच इजरायली सेनाले पश्चिमी इरानका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ भने इरानको रिभोलुसनरी गार्ड्सले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निशाना बनाउने चेतावनी दिएको छ।
क्षेत्रीय तनावका कारण मध्यपूर्वमा युद्धको जोखिम बढ्दै गएको भन्दै विभिन्न देशहरूले द्वन्द्व कम गर्ने उपाय खोज्न कूटनीतिक पहल तीव्र पारेका छन्।
तपाईको प्रतिक्रिया