लापरबाहीको आरोपमा चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाको कारबाही
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि कारबाही गरेको छ। काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले उनलाई ‘प्रोबेशन’ मा राख्ने निर्णय गरेको हो।
काउन्सिलका रजिस्ट्रार सतिसकुमार देवका अनुसार प्रोबेशन अवधिमा डा. गुप्ताले स्वतन्त्र रूपमा काम गर्न पाउने छैनन्। उनले अन्य चिकित्सकको निगरानीमा रहेर मात्रै उपचार सेवा दिन पाउनेछन्।
शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले उक्त निर्णय गरेको जनाएको छ।
बारा जिल्लाका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा काठमाडौंस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर पुगेका थिए। अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न भनेको बताइएको छ।
सोही दिन शल्यक्रिया गरी पित्तथैली निकालिएको र परीक्षणका लागि पठाइएको जानकारी परिवारलाई दिइए पनि रिपोर्ट उपलब्ध गराइएको थिएन। शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले उनलाई अन्य अस्पतालमा उपचारका लागि लगेका थिए।
त्यहाँ गरिएको परीक्षणमा पर्याप्त जाँच नगरी शल्यक्रिया गरिएको र भित्री अंगमा क्यान्सर फैलिएको चिकित्सकहरूले बताएका थिए। उपचारकै क्रममा सुरेशको ३२ साउन २०८१ मा मृत्यु भएको थियो।
परिवारले डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काउन्सिलले सम्बन्धित चिकित्सकहरूको बयान र विषयविज्ञको राय लिएपछि कारबाही गर्ने निर्णय गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया