काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत राउतले पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्ष जारी राख्ने बताएका छन्। उनले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेका र एक पटक जित तथा एक पटक हार व्यहोरेको स्मरण गर्दै दुवै निर्णयप्रति सन्तुष्ट रहेको बताएका छन्।
राउतले २०७५ मा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतासँग पुग्न रोक लगाएको कारण पार्टी गठन गर्नुपरेको उल्लेख गरे। अरू नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफूले पार्टी नेतृत्व सम्हालेको उनले बताए।
२०७९ को आमनिर्वाचनमा प्रारम्भमा नलड्ने सोच भए पनि पार्टी नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएका र प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ पाँच सिट जितेर पार्टीलाई राष्ट्रिय पार्टी बनाएको राउतले बताए। २०८२ को निर्वाचनमा पनि प्रारम्भमा नलड्ने निर्णय भए पनि अन्तिम समयमा उम्मेदवारी दिँदा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल घट्न नदिएको उनले स्मरण गरे।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर सिद्धान्त, एजेण्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
तपाईको प्रतिक्रिया