कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति, प्रधानमन्त्री कार्कीको निर्णयमाथि प्रश्न
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गरेपछि निर्णय विवादमा परेको छ।
नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै विभिन्न अभियन्ताले उक्त निर्णयको आलोचना गरेका छन्। जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वर्तमान सरकारले पनि अघिल्ला सरकारकै जस्तो गलत नजिर दोहोर्याएको टिप्पणी गरेकी छन्।
यसैबीच पूर्वमन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको निर्णयको आलोचना गर्दै आफ्नै प्रमुख स्वकीय सचिवलाई यस्तो पदमा नियुक्त गर्नु उचित नभएको बताएका छन्। उनले श्रेष्ठलाई प्रधानमन्त्रीको प्रतिष्ठामा आँच नपुग्ने गरी पद स्वीकार नगर्नसमेत आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्की राष्ट्रिय प्रकृति संरक्षण कोषकी संरक्षकसमेत हुन्। उनले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि कोषको अध्यक्षमा मनोनयन गरेकी हुन्।
तपाईको प्रतिक्रिया