काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विविध कार्यक्रमका साथ मनाइँदैछ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई सताउने तथा खाने गरेको कथा प्रचलित छ। स्थानीयवासीले विभिन्न उपाय अपनाएर उक्त राक्षसलाई संहार गरेपछि पनि त्यसको प्रेतात्मा पुनः सक्रिय भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डर रहेको विश्वास गरिन्छ।
त्यही विश्वासका आधारमा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाई घोडाको टापले गुरुमापाको आत्मालाई कुल्चेर दबाइने परम्परा रहेको छ। साथै बालबालिकामाथि कुनै अनिष्ट नहोस् भन्ने विश्वासका साथ आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि चढाइन्छ।
यसरी पूजा–परम्परा पूरा गरेपछि वर्षभर बालबालिका सुरक्षित रहने विश्वास काठमाडौँवासीमा रहिआएको छ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल प्रदर्शन, शारीरिक व्यायाम तथा युद्धकला लगायतका कार्यक्रम प्रस्तुत गर्नेछ। घोडा दौडाएर जात्रा मनाउने परम्परा रहँदै आएको छ।
यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।
तपाईको प्रतिक्रिया