मंगलबार २ असार २०८३
समाज

सङ्खुवासभा कारागार हत्या प्रकरणमा १५ जनालाई जन्मकैद

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या भएको घटनामा संलग्न ठहरिएका ७ प्रहरीसहित १५ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१(१) अनुसार दोषी ठहर भएका सबै १५ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

यो घटना २०८० साउन २४ गते भएको थियो। मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्र भएको सामूहिक कुटपिटका कारण मृत्यु भएको थियो।

अनुसन्धानका क्रममा दुवै कैदीले कारागारको शौचालयको झ्यालको रड काटेर भाग्ने प्रयास गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको र त्यसपछि सुरक्षाकर्मी तथा अन्य कैदीबन्दीबाट कुटपिट हुँदा ज्यान गएको खुलेको थियो।

अदालतले मुलुकी अपराध संहिताको दफा १८६ बमोजिम मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई प्रतिवादीबाट जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत दिएको छ।

फैसलाअनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान सुमन गुरुङ, पवनकुमार महतो तथा सुरक्षा गार्ड दमनसिंह राई, नुसन राईसहित अन्य अभियुक्तहरूलाई जन्मकैद सजाय सुनाइएको हो। त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकिएको अदालतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया