मंगलबार २ असार २०८३
समाज

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

मंगलबार असार २, २०८३/ Tuesday 06-16-26

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न नियामक निकाय तथा संस्थाहरूमा रिक्त रहेका पदाधिकारी पद पूर्तिका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूलाई निर्धारित समयभित्र आवेदन दिन आह्वान गरेको हो।

सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा सदस्य सचिव, र नेपाल नर्सिङ परिषद्का अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि दरखास्त मागिएको छ।

त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पद रिक्त रहेकाले ती पदका लागि पनि आवेदन प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदमा समेत नियुक्तिका लागि आवेदन माग गरिएको छ।

सम्बन्धित ऐन, नियमावली तथा मापदण्डअनुसार आवश्यक योग्यता पूरा गरेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारस्थित नीति, योजना तथा अनुगमन महाशाखामा प्रत्यक्ष बुझाउन वा मन्त्रालयको वेबसाइटमा उपलब्ध अनलाइन लिंकमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।

आवेदनसँग संलग्न गर्नुपर्ने आवश्यक कागजात, छनोट प्रक्रिया तथा अन्य विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया