मंगलबार ३ चैत २०८२
राजनीति

पौने ४ करोडको भ्रष्टाचार मुद्दामा पूर्वसांसद चालिसेलाई ५ लाख धरौटी

सोमबार चैत २, २०८२/ Monday 03-16-26

काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दा सामना गरिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोमबार विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइरालाको इजलासले चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे गोकर्णेश्वर नगरपालिकाका मेयर रहेका बेला गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दायर गरेको थियो। तर अनुसन्धानका क्रममा उनले अख्तियार र विशेष अदालत दुवै समक्ष आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका छन्।

अख्तियारले गत मंसिर २८ गते चालिसेविरुद्ध ३ करोड ६८ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको थियो। सार्वजनिक पदमा रहँदा उनले ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको देखिएकोमा त्यसमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रहेको अख्तियारको दाबी छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै सोही बराबरको बिगो कायम गरिएको हो।

यस मुद्दामा चालिसेसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जीव तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए।

 

तपाईको प्रतिक्रिया