बुधबार ४ चैत २०८२
बिजनेस

पोखरामा प्याराग्लाइडिङ्ग फेरि सञ्चालनमा आउने

मंगलबार चैत ३, २०८२/ Tuesday 03-17-26

काठमाडौं ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण लामो समय बन्द रहेको पोखराको प्याराग्लाइडिङ्ग अब पुनः सुरु हुन लागेको छ। साहसिक र मनोरञ्जन गतिविधिको रूपमा लोकप्रिय यो खेल पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकबीच विशेष आकर्षणको केन्द्र बनेको छ।

पहिले हरेक दिन १ हजारदेखि १२ सयसम्म पर्यटकले प्याराग्लाइडिङ्ग अनुभव गर्थे, तर विमानस्थल निर्माणपछि यो सेवा रोकिएको थियो। मौसम अनुकूल हुँदा यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमाल लगायतका सुन्दर पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिन्छ, जसका कारण पोखरा आउने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्दै गएको छ।

पोखरामा पुग्ने पर्यटकको पहिलो रोजाइ प्याराग्लाइडिङ्ग हुने भएकाले नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा यही चैत्र ५ गतेदेखि ७ गतेसम्म २१औँ नेपाल खुला पुरुष तथा महिला प्याराग्लाइडिङ्ग च्याम्पियनसिप आयोजना हुने भएको छ। हालसम्म स्वदेशी र विदेशी गरी ९० जना सहभागीले नाम दर्ता गरिसकेका छन्।

प्रतियोगितामा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला तर्फ क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

लामो समय बन्द रहँदा पोखरामा दर्ता भएका ६० वटा प्याराग्लाइडिङ्ग कम्पनीमा कार्यरत करिब ३५० पाइलट बेरोजगार भएका थिए भने प्याराग्लाइडिङ्ग र पर्यटन क्षेत्र ठप्प बनेको थियो।

 

तपाईको प्रतिक्रिया