बुधबार ४ चैत २०८२
अर्थ

पूर्वाधार विकास बैंकको कर्जा खरिद-बिक्री समय सीमा ३ वर्ष थप

बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26

काठमाडौँ । पूर्वाधार विकास बैंकलाई कर्जा खरिद, पुनःखरिद तथा बिक्री गर्ने समयावधि थप गरिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अब उक्त बैंकले २०८५ असार मसान्तसम्म यस्ता कारोबार सञ्चालन गर्न पाउनेछ। यसअघि भने बैंकले कारोबार सुरु गरेको चार वर्षभित्र मात्रै कर्जा खरिद–बिक्री गर्न मिल्ने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार बैंकहरूबीच मात्र कर्जा खरिद, बिक्री, पुनःखरिद तथा टेकओभर गर्न पाइनेछ। साथै, वाणिज्य बैंकहरूले पूर्वाधार परियोजनामा प्रवाह गरेका कर्जासमेत खरिद–बिक्री गर्न सकिने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले कर्जा कारोबार गर्दा तोकिएका मापदण्ड पालना अनिवार्य हुने जनाएको छ। बैंकहरूले अघिल्लो त्रैमाससम्म कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइसम्म मात्र यस्तो कारोबार गर्न सक्नेछन्। यो सुविधा २०८५ असार मसान्तपछि स्वतः समाप्त हुनेछ।

त्यसैगरी, पूर्वाधार विकास बैंकले न्यूनतम ३० करोड रुपैयाँभन्दा बढीको कर्जा मात्रै खरिद–बिक्री गर्न पाउनेछ र यससम्बन्धी स्पष्ट व्यवस्था आफ्नो कर्जा नीतिमा समावेश गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया