लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले “प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२” स्वीकृत गरेसँगै यसको कार्यान्वयन सुरु हुने भएको हो।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुका अनुसार नयाँ निर्देशिकामार्फत प्रदेशका प्राथमिकतामा परेका आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
बैठकले कर्मचारी व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय पनि गरेको छ। बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। यसअनुसार विनोद लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नारद गौतमलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र दिवाकर भण्डारीलाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य सेवातर्फ पनि विभिन्न पदस्थापन गरिएको छ। रोशनलाल चौधरीलाई प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुख जनस्वास्थ्य प्रशासक बनाइएको छ भने डा. राजेन्द्रकुमार गिरीलाई रुपन्देहीस्थित प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा जिम्मेवारी दिइएको छ। डा. मोहम्मद नुरुल होदा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा, डा. पदमराज अधिकारी गुल्मी जिल्ला अस्पतालमा तथा डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा नियुक्त गरिएको छ।
यसैगरी, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. अनुप थापा, डा. भुवन पौडेल, डा. सुरेन्द्र कुँवर, डा. पुष्पराज जोशी, डा. कृष्णहरि सुवेदी, डा. प्रभात पोख्रेल र डा. गोपालप्रसाद ज्ञवालीलाई विभिन्न विशेषज्ञ कन्सल्टेन्ट पदमा जिम्मेवारी दिइएको छ।
अन्यतर्फ, प्रदेश इञ्जिनियरिङ सेवाका अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इञ्जिनियरका रूपमा पदस्थापन गरिएको छ भने ईश्वरीप्रसाद पौडेललाई प्रदेश वन सेवातर्फ वन महानिर्देशकको जिम्मेवारी दिइएको छ।
तपाईको प्रतिक्रिया