बिहीबार ५ चैत २०८२
समाज

जुम्लाका एक हजारभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप

बुधबार चैत ४, २०८२/ Wednesday 03-18-26

जुम्ला । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाका १,२७७ किशोरीलाई एचपीभी खोप लगाउने अभियान सुरु गर्ने भएको छ।

चैत ९ गतेदेखि सुरु हुने यस अभियानअन्तर्गत जिल्लाका ८ स्थानीय तहका ८४ विद्यालयलाई खोप केन्द्रका रूपमा तोकिएको छ। विद्यालयमा आधारित कार्यक्रमअनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने जनस्वास्थ्य प्रमुख किरण शर्माले जानकारी दिए।

उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट जोगाउन लक्षित गर्दै विद्यालयमै पुगेर खोप सेवा प्रदान गरिनेछ र लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नदिने योजना बनाइएको छ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अभियानलाई प्रभावकारी बनाउन सूक्ष्म योजना तयार पारिएको र स्थानीय तह, विद्यालय तथा स्वास्थ्यकर्मीबीच समन्वय मजबुत बनाइएको बताए।

स्थानीय तहअनुसार चन्दननाथ नगरपालिकामा सबैभन्दा धेरै २७७ किशोरी खोपका लागि योग्य छन्। पातारासी र हिमा गाउँपालिकामा २२१/२२१, तिला गाउँपालिकामा १८५, तातोपानीमा १६४, कनकासुन्दरीमा १७७, सिजामा १३५ र गुठिचौरमा ७७ किशोरी रहेका छन्।

गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई समेटिएकोमा यसपटक कक्षा ६ समेत समावेश गरिएको छ। यसले दीर्घकालीन रूपमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानको तयारीस्वरूप जनस्वास्थ्य सेवा कार्यालयले अभिलेख व्यवस्थापन तथा प्रतिवेदनसम्बन्धी कार्यक्रम समेत सञ्चालन गरेको छ, जसमा स्वास्थ्यकर्मी, खोप समन्वय समिति र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया