बिहीबार १७ बैशाख २०८३
राजनीति

काठमाडौंका सबै सुकुमवासी बस्ती हटाइँदै, वैशाख १८ देखि डोजर चल्ने

बुधबार बैशाख १६, २०८३/ Wednesday 04-29-26

काठमाडौं । काठमाडौंका नदी किनार क्षेत्रमा बनेका सबै अवैध सुकुमवासी बस्ती हटाउने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीव्र पारेको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै यही वैशाख १८ गते बिहान ७ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा एकैसाथ डोजर चलाएर बस्ती खाली गराउने अभियान सुरु हुने जनाएको छ ।

प्रशासनका अनुसार काठमाडौं महानगरपालिका सहित विभिन्न पालिकाका नदी किनार, सार्वजनिक, सरकारी, पर्ति तथा निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसेका अनाधिकृत बस्तीहरूलाई मानवीय दृष्टिकोण र विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै हटाइनेछ । अभियान एकै चरणमा जिल्लाभर लागू गरिने बताइएको छ ।

यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू खाली गराइसकिएको थियो । अब बाँकी रहेका जोखिमयुक्त बस्तीहरू पनि क्रमशः हटाइने प्रशासनको भनाइ छ ।

स्थानीय प्रशासनले सुरक्षा निकायको समन्वयमा अभियान सञ्चालन हुने र वैकल्पिक व्यवस्थाबारे सम्बन्धित निकायसँग छलफल भइरहेको जनाएको छ । यता, बस्तीवासीहरूले भने उचित पुनर्वासको व्यवस्था बिना विस्थापन नगर्न माग गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया