काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता देखिएपछि आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब २० अर्ब रुपैयाँ फिर्ता लिन प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत करिब ९७ दिनको अवधिका लागि सवा एक खर्ब रुपैयाँ संकलन गर्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अत्यधिक भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न यस्तो कदम चाल्दै आएको हो। सुरुमा छोटो अवधिका उपकरण प्रयोग गर्दै आएको राष्ट्र बैंकले अहिले भने केही लामो अवधिका लागि पनि रकम संकलन गर्न थालेको छ। सोही क्रममा आज झन्डै साढे तीन महिनाको अवधिका लागि रकम झिक्न लागिएको हो। यसअघि बुधबार मात्र ४९ दिनका लागि ४० अर्ब रुपैयाँ बजारबाट तानिएको थियो।
पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले नियमित रूपमा सातामा दुई पटक बजारबाट तरलता संकलन गर्दै आएको छ। आजको बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन अनुमति दिइएको छ। संकलित निक्षेप उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिने व्यवस्था छ।
निक्षेप संकलनमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ लगानी गर्नुपर्नेछ भने अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा हुनुपर्नेछ। बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा बहुविध प्रस्ताव पेश गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया