बिहीबार १७ बैशाख २०८३
समाज

त्रिविका उपकुलपतिसहित तीन जनाले दिए राजीनामा

बिहीबार बैशाख १७, २०८३/ Thursday 04-30-26

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले नयाँ सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यले पद त्याग गरेका हुन्।

सरकारले राजनीतिक नियुक्तिका पदाधिकारीहरूलाई हटाउने व्यवस्था समेटिएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले यस्तो निर्णय लिएका हुन्। रेक्टर केसीका अनुसार सरकारको कामकारबाही सहज बनाउने हेतुले राजीनामा दिइएको हो। उनीहरूले आफ्नो राजीनामापत्र प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह समक्ष पठाइसकेका छन्।

उपकुलपति अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले २०८२ असार २५ मा नियुक्त गरेका थिए। यसअघि उपकुलपति रहेका केशरजंग बराल को राजीनामापछि अर्याल सो पदमा आएका थिए।

यस्तै, रेक्टर केसी र रजिस्ट्रार रिजाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० मा नियुक्त गरिएको थियो। उनीहरूको नियुक्ति पनि तत्कालीन उपकुलपति बरालकै सिफारिसमा भएको थियो।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई कुलपति रहने प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान छ र उनीहरूको कार्यकाल चार वर्षको हुने गर्दछ।

तपाईको प्रतिक्रिया