सम्पति शुद्धीकरण र संगठित अपराधबारे रविको मुद्दामा सुनुवाइ स्थगित
काठमाडौं । रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित गरिएको छ।
यो रिटमाथि आज (वैशाख १७) सर्वोच्च अदालतमा सुनुवाइ हुने तय भएको थियो। सुनुवाइका लागि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलास गठन गरिएको थियो। तर, लामिछाने पक्षको अनुरोधमा आजको सुनुवाइ स्थगित गरिएको र अर्को मिति तोक्ने तयारी भइरहेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन्।
यसअघि चैत १५ गते न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। संवैधानिक जटिलता लगायत आठ बुँदामा स्पष्ट व्याख्या आवश्यक रहेको उल्लेख गर्दै रिटलाई पूर्ण इजलासमा पठाइएको थियो।
पूर्व महान्यायाधिवक्ता सबिता भण्डारी बराल ले पुस ३० गते लामिछानेमाथि सहकारी ठगी मुद्दा मात्र कायम राख्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी आरोप हटाउने निर्णय गर्दै सम्बन्धित सरकारी वकील कार्यालयहरूलाई परिपत्र गरेकी थिइन्।
तर उक्त निर्णयको व्यापक आलोचना भएपछि माघ २ गते पुनः लामिछानेसहित जिबी राई, कुमार रम्तेल र छविलाल जोशी वञ्जाडे लगायत सबै प्रतिवादीमाथि अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो।
उक्त प्रकरणसँग सम्बन्धित तीन वटा रिट अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेका छन्।
तपाईको प्रतिक्रिया