देशभर बदली र वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वतर्फ तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको असर कायम रहेको जनाएको छ।
यस प्रभावका कारण अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ। त्यस्तै, मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि यस्तै किसिमको वर्षा देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य भागका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया