काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको लाइसेन्स रद्द गरेको छ।
काउन्सिलका अनुसार नेपाली नागरिकता त्यागेर बेलायत, अमेरिका, क्यानाडा लगायत देशको स्थायी बसोबास अनुमति (पिआर) लिएका चिकित्सकलाई अब नेपाली चिकित्सकको सूचीमा राख्न नमिल्ने भएकाले उनीहरूको नाम दर्ता खारेज गरिएको हो। काउन्सिलका रजिष्ट्रार डा. सतिश देवले काउन्सिल ऐन, नागरिकता ऐन तथा सम्बन्धित नियमावलीअनुसार यस्तो निर्णय गरिएको बताए।
यसअघि पनि काउन्सिलले एक साताअघि १७ जना चिकित्सकको नाम यस्तै कारणले हटाएको थियो। त्यतिबेला केही चिकित्सकले विरोध जनाए पनि काउन्सिलले नागरिकता परित्याग गर्ने चिकित्सकलाई सूचीबाट हटाउने प्रक्रिया निरन्तर रहने स्पष्ट पारेको छ।
लाइसेन्स रद्द हुने चिकित्सकमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. सन्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन, डा. सुजना श्रेष्ठ, डा. सुनिता बिष्ट, डा. दिपा मल्ल, डा. सौरव जी.सी., डा. जेनिशा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दिपिका ज्ञवाली, डा. हेमु चौरासिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डे रहेका छन्।
काउन्सिलका अनुसार निर्णय आजैदेखि लागू भएको छ। अब ती चिकित्सकहरूले नेपालमा कुनै पनि प्रकारको चिकित्सकीय सेवा दिन पाउने छैनन्।
तपाईको प्रतिक्रिया