आइतबार २० बैशाख २०८३
समाज

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

आइतबार बैशाख २०, २०८३/ Sunday 05-03-26

काठमाडौं । बागमती नदी तथा त्यसका सहायक खोलाका किनारमा बसोबास गर्दै आएका जोखिममा परेका बासिन्दाको व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले पुनः आह्वान गरेको छ। स्थानान्तरण प्रक्रियामा समावेश हुन छुटेका नागरिकलाई तुरुन्त सम्पर्कमा आउन मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार सहायता आवश्यक भएका वा हाल खुला स्थान तथा सडकमा बस्न बाध्य भएका व्यक्तिहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा पुगेर नाम दर्ता गराउनुपर्नेछ।

जारी प्रेस विज्ञप्तिमा वास्तविक भूमिहीन नागरिकको डिजिटल अभिलेख तयार पार्दै “होल्डिङ सेन्टर” मार्फत व्यवस्थित रूपमा व्यवस्थापन गरिने उल्लेख गरिएको छ। त्यहाँ बसोबास गर्नेहरूलाई आवास, खाना, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोसामाजिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

साथै, आर्थिक रूपमा कमजोर तथा वास्तविक भूमिहीन नागरिकलाई सरकारबाट उपलब्ध गराइने सेवा र सुविधाको लाभ लिन दर्ता प्रक्रियामा सहभागी हुन मन्त्रालयले पुनः आग्रह गरेको छ। दीर्घकालीन र सुरक्षित पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया