बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निजी निवासमा सोमबार छापा मारेको छ।
अवैध रूपमा आर्जित सम्पत्ति लुकाएको आशंकामा विभागले हेटौंडाको सानोपोखरास्थित उनको घर तथा बानियाँ निर्माण सेवा (बीएनएस) मा एकैसाथ अनुसन्धान गरेको हो। सो क्रममा आवश्यक कागजात र प्रमाणहरू संकलन गरिएको जनाइएको छ।
यससँगै काठमाडौंका नक्साल र सुन्धारास्थित स्थानहरूमा पनि विभागले खोजतलास गरेको छ। बानियाँको सम्पत्ति र आर्थिक कारोबारमा असामान्य गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ।
छापामार क्रममा केही महत्वपूर्ण कागजातहरू बरामद गरी सर्जिमिनसहित मुचुल्का तयार पारिएको छ। नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँ विगतमा निर्माण व्यवसायमा संलग्न थिए।
पछिल्लो समय उनी सिरहामा आयोजित एक कार्यक्रममा हेलिकोप्टरमार्फत सहभागी भएको विषयले पनि चर्चा पाएको थियो।
तपाईको प्रतिक्रिया