काभ्रेपलाञ्चोक । लगातार वर्षासँगै बढेको जोखिमका कारण बिपी राजमार्गको एक महत्त्वपूर्ण खण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सुरक्षा निकायले सोमबार साँझ ५ बजेदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सवारी आवतजावत रोक लगाएको हो।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार रोशी खोलामा आएको बाढीले सडकमा जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न यस्तो निर्णय लिइएको हो। प्रहरी नायब उपरीक्षक रविन विष्टले अवस्था सुरक्षित नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
वर्षाका कारण यस क्षेत्रमा पटक–पटक समस्या दोहोरिँदै आएको छ। रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाउँदा सडक बारम्बार अवरुद्ध हुँदै आएको छ। यसअघि वैशाख दोस्रो साता पनि सोही कारण दुई दिनसम्म राजमार्ग बन्द भएको थियो भने करिब चार किलोमिटर सडक संरचना प्रभावित भएको थियो।
गत चैतमा समेत सोही क्षेत्रमा सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। अझ अघिल्लो वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक क्षति पुर्याएको थियो, जसपछि खोलामै डाइभर्सन बनाएर आवागमन सञ्चालन हुँदै आएको थियो।
हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको जनाइएको छ।
राजमार्ग बन्द भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र नेपालथोक क्षेत्रमा रोकेर राखिएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।
तपाईको प्रतिक्रिया