काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरेको छ।
उनीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा बैशाख २१ गते काठमाडौंको खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको थियो।
स्मार्ट टेलिकम प्रालिले २०७० बैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र लिएको थियो। तर, नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (उपदफा ५) अनुसार २०८० बैशाख ३ गते उक्त अनुमतिपत्र स्वतः रद्द गरिएको थियो।
अनुमतिपत्र खारेज भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना तथा सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा लिइएको थियो।
तर, सरकारी सम्पत्तिमा हानि पुर्याउने उद्देश्यले अनियमित कार्य गरी नेपाल सरकारको हकमा क्षति पुर्याएको आरोपमा जोशीमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया