रोशी खोलामा फसेका ५ माइक्रो बसका ८९ यात्रुको सकुशल उद्धार
काभ्रेपलाञ्चोक । रोशी खोलामा एक्कासि बढेको पानीको बहावका कारण बीच धारमा अड्किएका यात्रुसहितका पाँच माइक्रो बसलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ती माइक्रो बसमा सवार ८९ जना यात्रुको सुरक्षित उद्धार गरेको हो।
सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रबीच पर्ने नदीको दुई धारबीच गाडीहरू फसेका थिए। पानीको सतह बढ्दै गएपछि यात्रुहरू जोखिममा परेका थिए भने केही समयका लागि अवस्था त्रासपूर्ण बनेको थियो।
उद्धारका लागि सुरक्षाकर्मीले डोरी, लाइफ ज्याकेटलगायतका उपकरण प्रयोग गर्दै क्रमिक रूपमा यात्रुहरूलाई सुरक्षित स्थानमा सारेका थिए। स्थानीयवासीले समेत उद्धार कार्यमा सहयोग गरेका थिए। लामो प्रयासपछि राति करिब १ बजे सबै यात्रु र सवारीसाधनलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जनाएको छ।
घटनापछि सो क्षेत्रमा केही समय आवागमन प्रभावित बनेको थियो भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वर्षायाम सुरु भएसँगै रोशी खोलामा बारम्बार पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया