काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३४.६३ अंकले ओरालो लाग्दै २७०४ अंकमा झरेको छ।
कारोबार सुरु भएको केही समयसम्म बजारमा सामान्य सुधार देखिए पनि त्यसपछि अन्त्यसम्म निरन्तर गिरावट आएको थियो। यससँगै बजार लगातार चौथो दिनसम्म घट्ने क्रममा पुगेको छ। यसअघि मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंकले गिरावट आएको थियो भने शुक्रबार सार्वजनिक बिदाका कारण कारोबार बन्द रहेको थियो।
आज कुल कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब २६ करोड रुपैयाँमा सीमित भयो। कारोबार भएका कम्पनीमध्ये २७ वटाको मूल्य बढ्दा २४० वटाको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो।
क्षेत्रगत रूपमा हेर्दा माइक्रोफाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन्। माइक्रोफाइनान्स समूहमा सामान्य वृद्धि देखिए पनि जलविद्युत्, विकास बैंक र उत्पादन क्षेत्रका सूचकहरू २ प्रतिशतभन्दा बढीले घटेका छन्।
कम्पनीगत प्रदर्शनमा फर्वार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै, करिब १५ प्रतिशतले बढ्यो भने झापा इनर्जीको पनि उल्लेखनीय वृद्धि भएको छ। विपरीत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशतले घटेको छ। साथै माइखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंकका सेयर मूल्य पनि उल्लेखनीय रूपमा घटेका छन्।
आज उच्च कारोबार हुने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक परेका छन्।
तपाईको प्रतिक्रिया