काठमाडौं । मन्त्रिपरिषद् बैठकपछि सरकारले केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका मुख्य चार निर्णयबारे जानकारी दिएका हुन्।
उनका अनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि एकपटक राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। साथै, भारतसँग सरकार–सरकार (जी–टु–जी) प्रक्रियामार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय–
–परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने ।
–भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
–संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने ।
–संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने ।
तपाईको प्रतिक्रिया