मंगलबार २२ बैशाख २०८३
राजनीति

अन्ततः राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

मंगलबार बैशाख २२, २०८३/ Tuesday 05-05-26

काठमाडौं।  रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्ले दोस्रो पटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपतिबाट जारी भएको हो।

यसअघि सोही अध्यादेश राष्ट्रपति पौडेलले पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। सरकारले अघिल्लो साता सिफारिस गरेको अध्यादेशमा पुनः समीक्षा आवश्यक रहेको भन्दै फिर्ता गरिएको थियो। तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः राष्ट्रपतिको कार्यालयमा पठाएको थियो, जसलाई अन्ततः राष्ट्रपतिले जारी गरेका हुन्।

यो अध्यादेश यसअघि पनि विवादमा परेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रमाणीकरणका लागि पठाइएको अध्यादेश राष्ट्रपति पौडेलले २०८२ असार २५ गते फिर्ता गरेका थिए।

त्यसैगरी, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पठाएको अध्यादेश पनि २०८२ मङ्सिर २ गते राष्ट्रपतिबाट फिर्ता गरिएको थियो।

सरकारले पटक–पटक सोही अध्यादेश अगाडि बढाउँदै आएपछि यसको राजनीतिक र संवैधानिक महत्वबारे बहस समेत बढ्दै गएको छ।

 

तपाईको प्रतिक्रिया